गृहपृष्ठ पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य काम
पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य काम
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बर्षदिनको अवधिमा १२ भन्दाबढी महत्वपूर्ण काम गरेका छन् । शालीन तथा भद्र व्यक्तित्वका जुझारु नेताको छवि बनाएका उनले वर्तमान मन्त्रीपरिषद्मा देखिने गरि काम गरेका थिए ।
सांसद, विकास समितिको सभापति हुँदै मन्त्रीको जिम्मेवारी सम्हालेका उनले छोटो समयमै विमानस्थल निर्माण, सुधारदेखि पर्यटन भ्रमण वर्ष २०२० को आधार तयार पार्ने काम गरे । उनी ताप्लेजुङको चौहानडाँडामा विमानस्थल बनाउने उदेश्यका साथ निरीक्षणका लागि पुगेका थिए । मन्त्री अधिकारीले सो चौहानडाँडाको अवलोकन त गरे तर विमानस्थल आफैले निर्माण गर्ने सपना अधुरै राखेर हेलिकोप्टर दुर्घटनामा परी अस्ताए ।
मन्त्री भएपछि अधिकारीका मुख्य उपलब्धि
१. अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम तीब्र
रवीन्द्र अधिकारी मन्त्री भएपछि गरेका महत्वपस्र्ण काममध्ये अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीब्रता प्रमुख हो । उनले राष्ट्रिय गौरवका रूपमा घोषित भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणमा देखिएका समस्याको निराकरण गरे ।
२. पर्यटक भित्र्याउन सफल
मन्त्री अधिकारीकै कार्यकालमा नेपालमा सर्वाधिक पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आएका छन् । जुन यसअघिको वर्ष भन्दा निकै धेरै हो ।
३. भ्रमण वर्षको आधार तयार
छोटो समयमै मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को आधार तयार परे । पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउँन उनको ठूलो भूमिका रहेको चर्चा हुनेछ ।
४. मन्टियल सन्धि कार्यान्वयनमा
अधिकारीले संसद्बाट मन्टियल सन्धि पास गराए । लगत्तै कार्यान्वयनमा पनि ल्याए । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट डेढ करोडभन्दा माथि पुगेको छ ।
५. त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन
मन्त्री भएलगतै मन्त्री अधिकारीले घोषणा गरेका थिए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटनाउन सञ्चालन समय बढाउने । केही समयपछि उनले सो घोाषणा पूरा गरिछाडे । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले २१ घन्टा सञ्चालनमा छ । त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा रहेका गाँठा फुकाउन उनको योगदान सम्झनलायक छ ।
६. स्थानीय विनमास्थलमा रात्रिकालीन उडान
कार्यकालमा अधिकारीले थुप्रै स्थानीय विमानस्थलको सुधार तथा स्तरोन्नति गरेका छन् । धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान थालिएको छ । नेपाली वायु सेवा कम्पनीले रात्रिकालीन विमान उपत्यका बाहिर राख्न मिल्ने गरि काम गरे । यसले त्रिभुवन विमानस्थलको चाप घटाउन भूमिका खेलेको छ ।
७. चौहानडाँडा विमानस्थलको योजना
तेह्रथुममा विमानस्थल बनाउने योजनाका साथ मन्त्री अधिकारी चौहानडाँडामा अध्ययनका लागी गएका थिए । मन्त्री अधिकारीले तेह्रथुमको चौहानडाँडामा १० मिनेट लामो सम्बोधन गर्दै भनेका थिए प्रधानमन्त्रीज्यूको चाहनाबमोजिम नै विमानस्थल निर्माणका लागि अनुगमन गर्न आएको हुँ । यो पाखोमा दुई वर्षपछि विमानस्थल बन्छ, अनि यहीँबाट जहाज चढ्नुहोला । स्वर्गीय मन्त्री अधिकारीले यस विषयमा योजना बनाए पनि विमानस्थलको निर्माण पूरा गर्ने योजनाभने अधुरै छ ।
प्रकाशित समय ११:५२ बजे

















