गृहपृष्ठ दाङमा व्यावसायिक कागतीखेती तीव्र, सयौँ बिघामा कागतीखेती विस्तार
दाङमा व्यावसायिक कागतीखेती तीव्र, सयौँ बिघामा कागतीखेती विस्तार
दाङमा व्यावसायिक कागतीखेतीमा कृषक आकर्षित भएका छन् । रुकुमका रामचन्द्र खड्काले ५० लाख लगानीमा तुलसीपुर उपमहानगरपालिका १९ थानगाउँमा व्यावसायिक कागतीखेती गरेका हुन् ।
सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा फार्म दर्ता गरेर उनले १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा रोपेका छन् । दुई वर्ष पहिले रोपेका ती बिरुवाले यस वर्षदेखि उत्पादन दिन सुरु गरेका छन् ।
यो वर्ष उनले १५ क्विन्टल कागती बिक्री गरिसके । यहाँ उत्पादित कागती घोराही, तुलसीपुरको बजारसँगै काठमाडौँसम्म पुगेको छ । प्रतिकिलो १२० रुपैयाँमा बिक्री गर्दै आएको उनले जानकारी दिए । कागती खेतीलाई विस्तार गर्ने र व्यवसायलाई निरन्तरता दिने सोच भएको खड्काले बताए ।
लमही नगरपालिका ८ गोजेना निवासी राजकुमार खड्काले राष्ट्रिय वाणिज्य बैंकको जागिरबाट अवकाशप्राप्त भएपछि व्यावसायिक रूपमा कागतीखेती गरेका छन् । उनले जागिरको सिलसिलामा विभिन्न ठाउँमा जाने अवसर मिलेकाले त्यहाँका किसानले गरेको व्यावसायिक कृषिले आकर्षण गरेपछि एक बिघा आफ्नो जमिनमा विभिन्न जातका १०० बिरुवा कागती लगाएका थिए । अहिले त्यसलाई विस्तार गरी ४०० बिरुवा पु‑याएका छन् ।
खड्का राज बहुउद्देश्य कृषि फार्म दर्ता गरेर व्यावसायिक कागतीखेतीमा लागेका छन् । उनले सुन कागती –१, सुन कागती–२, कलमी र लोकल जातका बिरुवा रोपेका छन् । कलमीले रोपेको दोस्रो वर्षमा नै फल दिन थालेको छ । उनलाई गत वर्ष कृषि ज्ञान केन्द्रले एक लाख रुपैयाँ सहयोग गरेको थियो । यो रकमबाट कागती बारीलाई व्यवस्थित गरिरहेको उनले बताए ।
लमही नगरपालिका ९ मा बगारबाबा कृषि फार्ममा कागतीका बिरुवा हुर्किरहेका छन् । ६ जनाको लगानीमा चार बिघा जमिन भाडामा लिएर वार्षिक एक लाख २० हजार भाडा दिने गरी फार्म सञ्चालन गरिएको सदस्य गोविन्द रेग्मीले जानकारी दिए । फार्ममा सुनकागती २५०, मंगोलियन १०० र रैथाने १०० गरी जम्मा ४५० बिरुवा रोपिएको छ ।
कागतीका बिरुवा रोपेको खाली ठाउँमा अदुवा, बेसारखेती गरेर खाली जमिनको सदुपयोग गरी अदुवा र बेसारबाट समेत आम्दानी हुने गरेको छ । कागती हेरचाहका लागि चार स्थानीयलाई रोजगारी दिएको रेग्मीले बताए । ‘कागतीमा दाङलाई आत्मनिर्भर बनाउने सोच राखेका छौँ, कागतीलाई आवश्यक पर्ने हावापानी दाङमा भएकाले यसको खेती गरेका हौँ,’ उनले भने ।
स्वास्थ्यकर्मीका अनुसार मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फस्फोरस र पोटासियमजस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के जस्ता भिटामिन पाइन्छ । औषधीय गुण भएकाले कागतीले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसले मलेरिया, डायरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदैन ।
दाङको हावापानीमा कागतीखेती आकर्षणको विषय बनेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले बताए । सरकारले किसानलाई कृषि व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले विभिन्न अनुदानका कार्यक्रममा गत वर्ष कागती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच कृषि फार्मलाई अनुदान दिएको उनले बताए । राप्ती गाउँपालिकाको अतुल कृषि फार्म, रावत कृषि फार्म तुलसीपुर, बगरबाबा कृषि फार्म लमही, राजवहु कृषि फार्म लमही र दंगाली फलफूल कृषि फार्म अनुदान पाएका हुन् । (रासस)
प्रकाशित समय ०८:०३ बजे

















