गृहपृष्ठ रुपन्देहीमा पहिलोपटक सोलार ड्रायर मेसिन
रुपन्देहीमा पहिलोपटक सोलार ड्रायर मेसिन

नेपालमै नमुना च्याउखेती गर्दै आएको रुपन्देहीको कञ्चन गाउँपालिका–१, गजेडीमा रहेको स्पिन्जर च्याउ फर्ममा सोलारबाट च्याउ सुकाउने प्रविधि (सोलार ड्रायर) भित्रिएको छ । सिजनको बेला उत्पादित च्याउलाई सुकुटीको रुपमा भण्डारण गरी बेमौसममा बिक्री गर्न लागि यस्तो प्रविधि भित्र्याइएको हो ।
स्पिन्जर च्याउ फर्मका सञ्चालक गंगाधर शर्माका अनुसार अहिले मिडियम साइजको मेसिन ल्याइएको हो । कुल १ लाख १० हजार रुपैयाँ पर्ने उक्त प्रविधिका लागि पोस्ट हार्भेस्ट व्यवस्थापन निर्देशनालयको ८५ प्रतिशत अनुदान छ ।
च्याउ घाममा सुकाउँदै आएका शर्माले ड्रायरमा सुकाउँदा च्याउको गुणस्तर बढ्ने, खेर नजाने, अन्य समयमा भन्दा छिटो सुक्ने र स्वाद नै फरक पर्ने बताए । मेसिनमा एक दिनमा २० किलोसम्म च्याउ सुकाउन सकिन्छ ।
२०६८ सालबाट च्याउखेतीमा लागेका शर्माले २०७० सालदेखि स्पिन्जर च्याउ फर्म सञ्चालनमा ल्याएका हुन । राष्ट्रपति उत्कृष्ठ कृषक सम्मानसमेत प्राप्त गरिसकेका शर्माको पूरै परिवार च्याउखेतीमा लागेको छ । बेमौसममा समेत मिल्की च्याउ उत्पादन गर्ने स्पिन्जर यो क्षेत्रकै पहिलो फर्म हो ।
शर्माले वार्षिक १८–१९ लाख रुपैयाँको च्याउको कारोबार गर्दै आएका छन् । ‘च्याउमा ४० प्रतिशत नाफा हुन्छ,’ उनले भने । यसअनुसार उनको वार्षिक आम्दानी कम्तीमा ८ लाख हुन्छ ।
नाफा बढ्दै गएपछि शर्माले च्याउको फर्म विस्तार गर्ने योजना बनाएका छन् । ‘वार्षिक एक करोड रुपैयाँबराबरको कारोबार गर्ने गरी अबको दुई वर्षभित्रमा फर्म विस्तार गर्छु,’ उनले भने ।
उनले अहिले आठवटा टनेलमा मिल्की र कन्ने च्याउखेती गर्दै आएका छन् । व्यवसाय विस्तारका लागि थप ३० वटा टनेल बनाउने तयारी उनी छन् ।
यसअघि रुपन्देहीमा पहिलोपटक जिल्ला कृषि विकास कार्यालयले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’अन्तर्गत च्याउको बल बनाउने मेसिन प्रदान गरेको थियो । कृषि कार्यालयको एक लाख ६५ हजार र फर्मको एक लाख ६५ हजार गरी तीन लाख ३० हजार रुपैयाँ लागतमा उक्त मेसिन ल्याइएको हो । स्पिन्जर च्याउ फर्मका प्रबन्धक राजन शर्माका अनुसार एक मिनेटमा चारवटा सम्म च्याउको बल बनाउन सकिने क्षमता रहेको यो मेसिनबाट सही अनुपातमा बीउ राख्नुका साथै कार्य सम्पादनमा समेत सरलता आउने गर्छ ।
प्रकाशित समय १८:४८ बजे