गृहपृष्ठ यसरी सम्भव भयो अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन

यसरी सम्भव भयो अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन

विश्वकप फुटबलमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेको छ । समूह चरणबाटै बाहिरिने सम्भावनालाई पञ्छाउँदै अर्जेन्टिना सुपर १६ मा प्रवेश गरेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा गएराति भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराउनु र सोही समूहअन्तर्गतको अर्को खेलमा आइसल्याण्ड क्रोयशियासँग हार्नुले अर्जेन्टिनाको अघिल्लो चरणको यात्रा तय भएको हो ।

नाइजेरियासँगको म्याचमा टोलीभित्र केही हेरफेर गरेको अर्जेन्टिनाको खेल यसअघिको भन्दा राम्रो रह्यो । खेलको १४ औँ मिनेटमा स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । गोलमा राम्रै नियन्त्रण गरेपनि पहिलो हाफअघि अर्जेन्टिनी खेलाडीले गोल गर्न सकेनन् । बरु, मस्चिरानोले नाइजेरियन खेलाडीलाई डिबक्सभित्र फउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दैं नाइजेरियाले खेललाई बराबरीमा फर्कायो । उसका लागि पहिलो हाफको इन्जुरी समयमा मोस्सोले गोल गरेका थिए ।

पहिलो हाफपछि पनि अर्जेन्टिनाले पेल्यो । अर्जेन्टिनी खेलाडीलाई रोक्नमै व्यस्त देखिएका नाइजेरियन खेलाडीले केही ‘काउन्टर अट्याक’ चुकाए । नाइजेरियाका मुसाले केही प्रहार गरेपनि कतिपय गोल कीपरले असफल पारिदिए भने कतिपय बल दायाँबायाँ र पोस्टभन्दा माथिबाट गयो । त्यसो त, अर्जेन्टिनाका खेलाडीले गरेका केही प्रहार पनि नाइजेरियाका गोलकीपरले रोके ।
खेलको ८६ औँ मिनेटमा अर्जेन्टिनाका लागि रोजोले गोल गरे र सोही गोलले अर्जेन्टिनाको जित सुनिश्चित गर्यो । एक एक गोलको बराबरीमा सकिएको भए अर्जेन्टिना समूह चरणबाट बाहिरिने थियो ।

गएराति नै भएको अर्को खेलमा समूह विजेता बन्दै क्रोयशिया अघिल्लो चरणमा प्रवेश गरेको छ । आइसल्याण्डलाई २–१ ले हराउँदै क्रोयशिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु