गृहपृष्ठ समृद्धिको भाउ

समृद्धिको भाउ

aarthik-sambridhi_news karobar

आफिसमा काम गर्दागर्दै रातको ११ बज्यो । घरमा खाना बनाउनु भन्न पनि भुलिएछ । भोकले पेट बटार्यो । सहकर्मी सुरजजीले बानेश्वरको पीपलबोटमा ठेलामा खानेकुरा खान पाइने बताए । नजिकै भएकाले त्यहाँ जान समस्या पनि थिएन । मध्यबानेश्वरबाट हामी त्यसतर्फ हिँडेरै लाग्यौँ । सडकबत्तीहरु बिग्रिएका थिए । राजधानीको मुटु मानिने बानेश्वरका सडक, त्यसमाथि अन्धकार ।

सुरजजी त यो ठाउँ र सडकसँग परिचित नै थिए । म चाहिँ बानेश्वरका लागि नयाँ नै हुँ । त्यसैले दुई ठाउँ सडकको खाल्डोमा भरिएको पानीले मलाई पियो । लड्दैपड्दै पीपलबोट पुगियो ।

आधा दर्जनजति ठेलाहरु थिए, जहाँ मःम, ससेज, चिकेन, लेगपिसदेपखि चाउचाउ र चाउमीनसम्म राखिएका थिए । ठेलाका मालिक चाहिँ अधिकांस युवा नै थिए । एउटा ठेलाको पसल कम्तिमा दुईजनाले मिलेर चलाउँदा रहेछन् । राति साढे ११ हुन लागेको थियो । त्यति राति पनि ‘भोकाउने’हरुको संख्या बढी नै हुँदो रहेछ । एकछिनअघि मलाई लाग्दै थियो कि यति राति खानेकुरा खोज्दै हिँड्ने हामी कम भोकामध्येका दुई हौँ ।

हामीले मःम माग्यौँ दुई प्लेट । निकै स्वादिष्ट थियो । हामीले अरु दुई प्लेट अर्डर गर्यौँ । तर, यसपटक एकजना एसआइ आएर ठेलावालालाई थर्काए । ‘नटेरेको हो ?’ उनले जंगिदै भने, ‘मैले नै उठाइदिनुपर्ला नि ।’

त्यसपछि ती केटाहरु हतारिँदै कुर्सी र बेञ्चहरु भेला गर्न थाले । हामीलाई भाग लगाउन लागेको मःम अर्को भाँडोले छोपे । हामीलाई अचम्म लाग्यो । सुरजजीले ती ठेलावालालाई सोधे, ‘भाइ पुलिसले किन बन्द गराउन खोजेको हो ?’

ठेलाको भाईले हतारिँदै भन्यो, ‘१२ बजेपछि सधैँ बन्द गराउँछ पुलिसले ।’ उसले त्यतिमात्रै भन्यो । केही जवानसहित आएका ती प्रहरी नायव निरीक्षकले अरु ठेलालाई पनि बन्द गर्न आदेश दिँदै गए । हामीलाई ठेला बन्द गराउनुको कारण के होला भन्ने जिज्ञासाले पोल्न थाल्यो । यो जिज्ञासा मेटाउन हामी ती एसआइ भएतिर गयौँ । सुरजजीले उनलाई सोधे, ‘सर किन बन्द गराउँदैहुनुहुन्छ यो ठेलाको व्यापार ?’ ती एसआइको जवाफ थियो, ‘रातभरी किन खोल्नुपर्यो, जाँड खाको मान्छे आउँछ, झैझगडा हुन्छ ।’ मैले तुरुन्तै सोधेँ, ‘जाँड खाएको मान्छेले गर्दा यो ठेला नै बन्द गरिदिने ? अरुले जाँड खान्छ यसको के दोष ? उसले जाँडरक्सी त बेचेको होइन नि ।’ ती एसआइ सजिलो उत्तर दिएर उम्किए । नजिकैको प्रहरी भ्यानतिर देखाउँदै उनको जवाफ थियो, ‘ऊ त्यहाँ डिएसपी सा’प हुनुहुन्छ, उहाँलाई गएर सोध्नु ।’

भ्यानमा बसेका डिएसपीतिर हामी अघि बढ्यौँ । तर, भ्यान अगाडि बढिहाल्यो । मैले १०० मा फोन गरेर तीनकुनेका डिएपीको नम्बर मागेँ । त्यसपछि मैले उनलाई सोधेँ, ‘आखिर यो ठेलालाई तपाईंहरु किन रातभर चल्न दिनुहुन्न ?’ उनले जवाफ दिए, ‘हामीले बन्द गराएको होइन, हामलाई जे आदेश आउँछ, कार्यान्वयन गर्ने हो । उनले पनि सुरक्षा चुनौतीकै कुरा गरे ।

ठीकै छ, यसबारे अन्त पनि बुझौँला नि त भनेर हामी फर्कन लाग्यौँ । ठेला नजिकैको दोहोरी साँझमा गीत घन्किरहेको थियो, ‘बोतलको पानीले आँखा सन्काइ नानीले ।’ गेटमा गेटपाले थिए, अझै पनि त्यहाँ खासगरी ‘अर्धवैशे युवा’को आवत–जावत भइरहेको थियो । ‘फ्रेस’ छिरेकाहरु ‘खुट्टा बटार्दै’ निस्किँदै थिए भने सायद खुट्टा बटार्ने लक्ष्यसहित फ्रेसहरु छिर्दै थिए । दायाँपट्टि दुई जना प्रहरी जवान बसेका थिए, मानौँ उनीहरु त्यो रोधीघरको सुरक्षार्थ खटाइएका हुन् ।

हामीले एकछिन् त्यहीँ बसेर हेर्ने निर्णय गर्यौँ । ठेलाहरु उठिसकेका थिए । दोहोरी साँझ छिप्पीएर ‘दोहोरी रात’ भइसकेको थियो । रातको १ बज्न केही मिनेटमात्रै बाँकी थियो । दोहोरी चलिनै राखेको थियो । फरक यति हो, अहिले गेटमा पाले थिएनन् । छिर्नेहरु पनि कम नै थिए । तर, खुट्टा बटार्दै निस्कनेहरु ज्यादा थिए । ठेला राखेको ठाउँ ठेलावालाहरुले सफा गरिसकेका थिए । केही कुकुर आएर त्यहाँ सुङ्दै थिए । त्यही कुकुरको छेउमा गएर ती ‘खुट्टा बटार्ने’हरु चाहिँ ‘सूसू’ गर्दै थिए ।

ती सब दृष्य हेरिसकेपछि निन्द्रा लाग्यो । हामी फर्किँदै थियौँ । बानेश्वर हाइट छेउमा प्रहरी भ्यान भेटियो । ‘यति राति कहाँ गएर आउनुभा’को ?’ एकजना हवल्दारले सोधे । मैले जवाफ फर्काएँ, ‘ड्यूटीबाट सर ।’ उनले अर्को प्रश्न गरे ‘यतिबेला केको ड्यूटी हो ?’ मैले पनि सोधेँ, ‘किन र, तपाईं चाहिँ अफ ड्यूटीमा हो र ? ती हवल्दारले भने, ‘हैन यति राति पनि के काम हुन्छ र भनेर सोधेको हो ।’ ‘ल सर हामी गयौँ, अरु केही सोध्नु छ भने सोधिहाल्नुस् ।’ सुरजजीले भने । ‘ल जानुस’ ती हवल्दारले ‘आदेश’ दिए ।

म इजरायलमा हुँदा किन्नरेट कलेजको निर्देशक ओरेन डेभीडले भनेको सम्झिएँ, ‘तिमि नेपालीहरु १८÷२० घण्टा काम गर्ने कुरा सुन्दा अचम्म मान्छौँ, दिउँसो आराम गरेर राति काम गर्ने कुरा सोच्न पनि सक्दैनौँ । हामीकहाँ १८÷२० घण्टा काम गर्नु सामान्य हो ।’

फेरि प्रधानमन्त्री केपी शर्मा ओलीका मञ्चे भाषण अगाडि झल्कियो, ‘१० वर्षभित्र ५ लाख युवालाई रोजगारी दिइनेछ, आर्थिक समृद्धिको जग ठड्याइन्छ ।’

जहाँ काम गरिरहेका युवालाई गएर सुत भनिन्छ, एउटाको गल्ती देखाएर अर्कोलाई सजाय दिइन्छ, १८÷२० घण्टा काम गनुपर्छ भन्ने सोच नै छैन, त्यहाँ चाहिँ समृद्धि भन्ने शब्द राखेर सुन्दर भाषण छाँट्ने काम भइरहेको रहेछ । दूधमा सोडा देखाएर सिल गरिन्छ, रक्सीको विषादीलाई क्लीन चिट दिइन्छ । दूव्र्यसनले खाने त हो भनेर एक खिल्ली चुरोटमा व्यापारीले ठगीरहेको ४ रुपैयाँप्रति चुपचाप बसिन्छ अनि गाडीको सहचालकले दुई रुपैयाँ नपुग्दा बेइज्जेत गर्छ, फिर्ता माग्दा छैन भन्छ तर पनि लुरुक्क परेर गाडीबाट झरिन्छ । नयाँ व्यवस्था भनेर जनताको ढाड सेक्ने गरी कर असुलिन्छ तर अर्बौ भ्याट छल्नेले मुलुक चलाउँछन्, त्यहाँ चाहिँ समृद्धिको भाषण राम्रैसँग बिक्दो पनि रहेछ ।

सुन्छु, कम्युनिष्टहरु साम्यवादी हुन् । साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाजको स्थापना गरिन्छ । जहाँसम्म मेरो बुझाइ सही छ, गरिबलाई चाहिँ धनीकै लेभलमा पुर्याएपछि आर्थिक समानता आउँछ भन्ने मर्म साम्यवादको हो । हामीकहाँ त धनीलाई गरिब बनाएर समता स्थापना गर्ने प्रयास भइरहेको रहेछ । हैन भने जाँड खानेहरुको कारणले मेहनत मजदुरी गरेर खानेको जोश जाँगर मार्ने काम किन गरिन्छ ? यस्तै हो भने समृद्धिको भाउ पनि बढ्ने छ र कुष्टरोगसम्बन्धी कार्यक्रममा पुग्दा पनि समृद्धि, गीत विमोचन समारोहको भाषणमा पनि समृद्धि भन्ने शब्द छिराउने नेताहरुका भाषण पनि ‘कुरुप’ हुनेछ ।

नवराज कुँवर

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु