गृहपृष्ठ अमेरिका र बेलायतबीच बढ्याे विवाद, अमेरिकाले व्यापार सम्झौता नगर्ने !
अमेरिका र बेलायतबीच बढ्याे विवाद, अमेरिकाले व्यापार सम्झौता नगर्ने !

अमेरिका र बेलायतबीच तनाव बढ्ने देखिएको छ । यूरोपेली संघबाट बेलायत बाहिरिनेसम्बन्धी प्रधानमन्त्री थेरेसा मेको योजना अघि बढाइए अमेरिकाले बेलायसँगको व्यापार सम्झौता नगर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।
‘प्रधानमन्त्रीको मेको योजना कार्यान्वन भए हामी बेलायतसँग व्यापार सम्झौता सायद रोक्न सक्छौँ’ सन समाचारपत्रलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘त्यसपछि हामी यूरोपेली संघसँगमात्रै सम्बन्ध कायम गर्नेछौँ ।’
बीबीसीका अनुसार बेलायती प्रधानमन्त्री मेले राष्ट्रपतिको रूपमा पहिलो पटक बेलायत आएका ट्रम्पसँग अमेरिका–बेलायत स्वतन्त्र व्यापार सम्झौताका लागि कुराहरू राख्ने बताइएको छ । उनले ब्रेक्जिट संयुक्त अधिराज्य र सयुक्त राज्य अमेरिकामा आर्थिक वृद्धिको ढोका खोल्ने अवसर भएको टिप्पणी पनि गरेकी छन् ।
राष्ट्रपति ट्रम्पले पूर्व बेलायती विदेशमन्त्री बोरिस जोनसन उत्कृष्ट प्रधानमन्त्री बन्न सक्ने भन्दै उनीसँग त्यसका लागि चाहिने क्षमता भएको टिप्पणी पनि गरे । ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनको बेलायत भ्रमणलाई छायामा पार्ने देखिन्छ । प्रधानमन्त्री मेले ट्रम्प र उनकी श्रीमतिलाई रात्रिभोज दिइरहँदा बेल्जियमको ब्रसेल्समा लिइएको पछिल्लो अन्तर्वार्ता छापिएको थियो ।
बेलायतले हाल प्रस्तुत गरेको इयु बहिर्गमनको योजना जनताले मतदानमार्फत व्यक्त गरेको धारणा भन्दा फरक रहेको ट्रम्पले दाबी गरे । आफूले प्रधानमन्त्री मेलाई इयु बहिर्गमनसम्बन्धी सुझाव दिएपनि उनले त्यसलाई वास्ता नगरेको ट्रम्पको टिप्पणी छ । उनले युरोपेली संघले संयुक्त राज्य अमेरिकालाई उपयुक्त व्यवहार नगरेकाले आफूले इयुविरूद्ध कडा रवैया अपनाएको उल्लेख गरे ।
प्रकाशित समय ०९:०६ बजे