गृहपृष्ठ सरकारी विद्यालयमा अंग्रेजी पढ्ने धोको

सरकारी विद्यालयमा अंग्रेजी पढ्ने धोको

butawal school-newskarobar

वरिपरि अव्यवस्थित बसोबास, त्यही बीचमा छ– प्रगति आधारभूत माध्यमिक विद्यालय । बुटवल उपमहानगरपालिका–११, प्रगति नगरमा रहेको विद्यालय २०५४ सालमा स्थापना भएको हो ।

स्थानीयको सक्रियतामा जेनतेन कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढाइ हुँदै आएको प्रगति माविमा अब कक्षा १२ सम्म नै अंग्रेजी पढ्ने विद्यार्थीको धोको पूरा हुने भएको छ ।

अधिकांश सकुम्बासी परिवारले अध्ययन गर्ने विद्यालयको भौतिक संरचनासमेत कमजोर छ । अझै पनि कक्षा ८ सम्म अध्ययन गरेपछि मावि पढ्नका लागि अन्यत्र जानुपर्ने बाध्यतामा विद्यार्थी छन् । तर, स्थानीयको सक्रियतामा श्रीमद् भागवत तथा धार्मिक महोत्सव सञ्चालन गरी आर्थिक संकलन गरेपछि कक्षा १२ सम्म थपेर अंग्रेजी माध्यममा पढाउने गरी योजना अघि बढाइएको छ ।
विद्यालयका सल्लाहकार जितबहादुर मल्लका अनुसार भौतिक संरचना निर्माण र शैक्षिक स्तरोन्नतिका लागि रकम जुटाउन महायज्ञ आयोजना गरिएको हो । ‘महायज्ञमा संकलित रकमबाट मावि तहसम्म अंग्रेजी माध्यम अध्यापन गराउने योजना अघि सारिएको हो,’ उनले भने ।

विद्यालयमा हाल चार सय ७५ विद्यार्थी अध्ययनरत छन् । तीनजना प्रावि स्थायी दरबन्दी छ भने अन्य तीनजना राहत शिक्षक कार्यरत छन् । बालविकासमा न्यूनतम पारिश्रमिकका चार जना कार्यरत छन् भने अन्य दुईजना निजी स्रोतबाट शिक्षक नियुक्ति गरी अध्यायपन गराइँदै आएको छ । विद्यालयका कुल १२ जना जना शिक्षक कार्यरत छन् ।

प्रधानाध्यापक शिवकुमारी अर्यालले आर्थिक संकट टार्न महायज्ञ लगाइएको र सोही रकमबाट उच्चमावि तह सञ्चालनको योजना अघि सारिएको बताइन् । अधिकांश न्यून आयस्रोत भएका अभिभावकका सन्ततिले अध्ययन गर्दै आएको विद्यालय भएकाले पनि यसको स्तरोन्नति गर्न आवश्यक रहेको उनको भनाइ छ ।

हाल १७ वटा कोठा रहेको विद्यालयका केही कोठा जीर्ण भइसकेका छन् । जस्तापाताले छाएका कारण कतिपय तत्काल मर्मत गर्नुपर्ने अवस्था छ । अहिले आठवटा कोठा थप्नका लागि पहल भएको प्रधानाध्यापक अर्यालले बताइन् ।

वैशाखमा सञ्चालित महायज्ञबाट एक करोड ५४ लाख १६ हजार ३ सय ५१ रुपैयाँ संकलन भएको थियो । जसमा ३६ लाख ५२ हजार २ सय २४ रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ ।

प्रकाशित समय २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु