गृहपृष्ठ सिरियामा युद्धविराम गर्ने सहमतिसँगै हजारौं नागरिक घर फर्किए

सिरियामा युद्धविराम गर्ने सहमतिसँगै हजारौं नागरिक घर फर्किए

syria-newskarobar

सिरियाली सरकारको मुख्य सहयोगी रुस र दक्षिण सिरियामा सक्रिय विद्रोही समूहबीच युद्धविरामका लागि सहमति भएपछि दशौं हजार नागरिक स्वदेश फर्किएका सिरियाली मानव अधिकारवादी संघसंस्थाले जनाएका छन् । सरकारी सेनाले रुसको सहयोगमा गत दुई हप्तादेखि गरेको कारबाहीमा झन्डै ५ सयजनाको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।

युद्धविरामपछि विद्रोही दारा क्षेत्रबाट पछि हट्ने सहमति भए पनि उक्त क्षेत्रबाट पछि हट्ने समयलाई विलम्ब गर्दा दुई स्थानमा भएका हवाई आक्रमणमा चार सर्वसाधारणको मृत्यु भएको छ तर दक्षिण सिरियाका अन्य क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्न थालेको मानव अधिकारवादी समूहले जनाएको छ ।

सिरियामा सात वर्ष पहिले चलेको गृहयुद्धसँगै विद्रोहीको नियन्त्रणमा रहेको दारा प्रान्तको जोर्डनसँगको सीमाक्षेत्र र इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्सलाई सिरियाले पुनः फिर्ता गर्ने प्रतिबद्धतासहित अघि बढेपछि अन्तर्राष्ट्रिय समुदायको दबाबमा युद्धविराम गरिएको हो । जुन १९ पछि सरकारी फौजले व्यापाक गोलाबारी गर्न थालेपछि करिब तीन लाख २० हजार नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघको ठहर छ ।

उक्त क्षेत्रमा जोर्डनले सिरियाली आप्रवासी शरणार्थीको भार धान्न नसक्ने भन्दै प्रायः सबै नाकालाई बन्द गरिदिएको छ । विद्रोही र सरकारी फौजबीच गत शुक्रबार युद्धविरामको सहमति भएको थियो । सहमतिअनुसार विद्रोहीले सरकारलाई ठूला खाले हतियार बुझाउने र उक्त प्रदेशमा सरकारको उपस्थितिलाई स्वीकार गर्नुपर्ने बताइएको छ ।

प्राप्त सूचनाअनुसार शनिबार र आइतबार करिब ६० हजार सिरियाली नागरिक घर फर्केका छन् । युद्धविराम सहमति इस्लामिक स्टेट (आईएस) जिहादी समूहका लागि भने लागू हुने छैन ।
(रासस)

प्रकाशित समय २१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु