गृहपृष्ठ कृषि विकासको उदाहरण हेर्न मरुभूमिको देशमा

कृषि विकासको उदाहरण हेर्न मरुभूमिको देशमा

देश बलियो भयो भने युरोप र अमेरिकाको भिसा लाग्दा करोडौँको चिठ्ठा परेजस्तो गरी दंग हुनुपर्ने छैन

agriculture-newskarobar

 

नेपालमा ‘केही छैन’ भनेर दैनिक १५ सयभन्दा बढी युवा विदेशी भूमिमा श्रम बेच्न लम्किरहेका छन् । तर, नेपालमै भएका स्रोत र साधनमा समृद्धिको सम्भावना खोज्नेको संख्या एकदमै न्यून छ ।

मोरङको तिनटोलियामा भारत बिहारबाट आएका जोगेन्द्र यादवले गाईपालन गरेर मासिक ५० हजार, झापाको बिर्तामोडमा एकजना भारतीय नागरिक राम ज्योती शाहले तरकारीखेतीबाटै परिवारको सम्पूर्ण खर्च कटाएर मासिक ३० हजार, कपिलवस्तुको भैरहवामा भारतीय नागरिक उपेन्द्र शाह तेलीले आलुखेती गरेरै मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका समाचार हामीले अखबारमा पढ्दै आएका छौँ । तर, तीतो यथार्थ, हाम्रा नेपाली युवा भने नेपालमा केही छैन भनेर बिदेसिइरहेका छन् ।

लेखकसँग विदेशको एउटा अनुभव छ, जहाँ लेखकले कृषिबाट चमत्कार हुनसक्ने उदाहरणको साक्षी बन्ने अवसर पाएको छ ।

७६ प्रतिशतभन्दा बढी कृषक भएको कृषिप्रधान मुलुकको म नेपाली युवा । तीन प्रतिशतभन्दा कम कृषक भएको मुलुक (इजरायल)मा कृषि शिक्षा आर्जन गर्न पुगेको थिएँ । प्राकृतिक रुपमा सुन फल्ने क्षमता भएको मेरो माटोमा चित्त बुझ्ने गरी अन्न फलाउन नसकेको देशबाट त्यहाँ पुगेको मैले बालुवा र चट्टानमा बिछ्याइएको विदेशी माटोमा हिरा फलाएको हेरेँ ।

प्राकृतिक रुपमा उद्गम र सुगम भएर पनि पानीको अभाव काटिरहेको देशबाट त्यहाँ पुगेको मैले जम्मा भू–भागको आधाभन्दा बढी मरुभूमिमा थोपा सिँचाइ प्रणालीबाट १२ महिना नै अन्न उत्पादन भएको देखेँ । बिघौँ–बिघा जमिन हुने जमिनदार वर्षभरि रासन उत्पादन गर्न नसकेर बजारमा मन्सुली छान्न बाध्य हुने देशको मैले एक कट्ठा पनि जमिन नभएको कृषकले भाडाको जग्गामा सरकारी ऋणमार्फत करोडौँ कमाएको हेरेँ ।

किसानको छोरा भएर दुई घण्टा पनि काम गर्ने बानी नभएको मैले त्यहाँ दिनको १५ घण्टासम्म काम गरेँ । म त दिनको झन्डै २ सय सेकल (करिब ५ हजार रुपैयाँ) आर्जन गरेर मख्ख थिएँ । तर, मेरो मेहनतबाट त्यहाँको कृषकले झन्डै २ हजार सेकल अर्थात् (५० देखि ६० हजार रुपैयाँ)को फाइदा लिन्थे । घरको बिघा जमिनमा खेताला लगाएर आफू त्यहाँ यहुदीको खेताला बनेर काम गरेँ । म मालिक बन्न छाडेर दासी जीवन बिताउन पुगेँ । केही पल त्यसैमा रमाएँ, मजस्तै अरु पनि । अझै कयौँ युवा त्यसैमा रमाइरहेका छन् । प्राकृतिक सुगमता नियाल्दा नेपाल र इजरायल तुलना गर्नै मिल्दैन । हामी त्यति अगाडि छाैं । तर विडम्बना, यथार्थमा हामी इजरायलभन्दा कैयौँ गुणा पछाडि छाैं ।

इतिहास खासै लामो छैन, जहाँदेखि इजरायलको कृषि विकास प्रारम्भ भयो । अहिले इजरायलमा कृषिको एक उच्च विकसित उद्योग स्थापित छ । इजरायलका ताजा उपज र इजरायलको भूगोल कृषिका लागि स्वभाविक छैन भन्ने तर्कका बावजुद कृषि प्रविधिमा विश्वकै निर्यातक देशमध्ये ‘नेता देश’ बन्न पुगेको छ । त्यस देशमा भूमि क्षेत्रको आधाभन्दा बढी मरुभूमि छ । जलस्रोत र हावापानीबाट पनि अनुकूल छैन ।

त्यहाँको २० प्रतिशतमात्र भूमि खेतीयोग्य छ । यसको मतलव ८० प्रतिशत भूमि खेतीका लागि प्रतिकुल छ । इजरायलले आज २.५ प्रतिशत कुल गार्हस्थ उत्पादन (जिडीपी) र निर्यातको ३.७ प्रतिशतको प्रतिनिधित्व गर्छ । जबकि, इजरायलका कृषि श्रमिकहरुको काम शक्ति ३.७ प्रतिशतमात्र छ । इजरायलीहरुले आफ्नो खाना र आवश्यकताका ९५ प्रतिशत खाद्यान्न आफैँ उत्पादन गर्ने गर्दछन् । इजरायलमा ‘किबुज’ र ‘मोसव’ भन्ने दुई किसिमका अग्रगामी उद्योग र कृषि समुदायको विकास भएको छ ।

अहिलेको विकसित इजरायली कृषिको विकाससँग उन्नाइँसौ शताब्दिको अन्त्यतिर ‘प्यालेस्टाइन–जिओनिस्ट आन्दोलन’ र ‘यहुदी अध्यागमन’ पनि गाँसिएको बताइन्छ ।

बसाइँ सरेर आएका यहुदीहरुले खरिद गरेको भूमि ज्यादातर अर्धशुष्क थियो । धेरै वन फडानी, माटोमा ‘अन्टिलेवल’ थियो । त्यतिबेलाका यहुदीहरुले चट्टानी क्षेत्र हुँदै भास नाली सरसफाई गरी वन वृक्षरोपण र माटोको क्षयलाई निस्तेज पार्ने काम गरे । त्यसपछि बसोबासका लागि छतवाला भवनहरु बनाए ।

सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि खेतिका लागि कुल क्षेत्रफल ४ सय ८ एकड अर्थात १ हजार ६ सय ५० वर्ग किलोमिटरबाट बढेर १ हजार ७० एकड भएको छ । जबकि, कृषि समुदायको संख्या ४ सय २५ देखि बढेर ७ सय पुगेको छ । कृषि उत्पादन १६ पटक विस्तार भएको छ, जुन जनसंख्या वृद्धिभन्दा तीन गुणा बढी हो ।

इतिहास कोट्याउने हो भने ६०/७० वर्षअघि इजरायल नेपालभन्दा कैयाैं गुणा पछाडि थियो । नेपाल इजरायलको तुलनामा निकै सम्पन्न र वैभवशाली थियो । करिब ८ दशकअघि इजरायलमा भोकमरी थियो । मानिसहरुले सीमित खाद्यवस्तुहरुमात्र किन्न सक्थे । यसका लागि सरकारले उनीहरुलाई कुपन दिन्थ्यो । हरेक परिवारले दैनिक २ लिटर दूध, ५ किलो पीठो, १० वटा मात्र अण्डा यस्तै–यस्तै धेरै सीमित खाद्यवस्तुहरुमात्र पाउँथे ।

इजरायलीसँग पानी थिएन । पानीका लागि धेरै खर्च गर्नुपथ्र्यो । काठमाडौंमा मानिसहरुले पानीका लागि हरेक महिना पचास वा सय रुपैयाँको हाराहारीमा तिर्ने गर्दछन् तर इजरायलका लागि यो त धेरै सस्तो थियो । इजरायलमा त मानिसहरुले घरायसी प्रयोगमा हरेक महिना २ सयभन्दा अझै बढी अमेरिकी डलर तिर्नुपथ्र्यो । पानी अझै धेरै महँगो । यस्तो अवस्थामा कसरी कृषि विकास गर्ने ? यो विषय इजरायलीका लागि सानो चुनौतीपूर्ण थिएन । यसका लागि इजरायलीले लामो समय मेहनत गरे । तर पनि त्यहाँका युवा विदेशिने सोच बनाएनन् । देश सरकारले मात्रै होइन आफैँ बनाउने हो भन्ने उनीहरुले ठहर गरे । आ–आफ्नो ठाउँबाट स्वदेशकै मरुभूमिलाई हरियाली बनाउने अत्यन्तै चुनौतीपूर्ण काममा खटिए । यदि उनीहरु उतिबेलै यूरोप र अमेरिकातिर जान सुरु गरेका हुन्थे त, आज त्यही बानी लाग्थ्यो र सायद विकास त्यति नै पछि पर्थ्यो ।

सबैभन्दा महत्वपूर्ण कुरा अवधारणा वा सोच नै हो । त्यसपछि उर्जा र जाँगरका कुरा आउँछन् । कृषि रुची होइन, यो व्यवसाय हो । व्यवसायमा उपलब्धि हाँसिल गर्न लगानी गर्नैपर्छ । लगानी भनेको धन र श्रम दुबै हो । लगानी नगर्ने हो भने नाफा पनि हुँदैन भन्ने कुरा इजरायलीहरुले महशुस गरे । कृषिमा लगानीसँगै अथक मेहनत गरे । अन्ततः आधुनिक प्रविधि र प्रणालीको माध्यम अंगालेर ८ दशकभित्रै आफूलाई आवश्यक खाद्यवस्तु उत्पादन गरेर निर्यात पनि गर्न इजरायली सफल भए । आज इजरायलले आफू बाँचेर विश्वका धेरै देशलाई पालेको छ ।

हामीसँग के छैन ?
हाम्रो देश प्राकृतिक सम्पदाको धनी देश मानिन्छ । सानो मुलुक भए पनि हिमालदेखि तराईसम्मको हावापानीका कारण नेपालमा विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंग, चराचुरुंगी तथा झरना, खोला, पहाड, कन्दरा आदि पाइन्छन् । कृषिका लागि नेपाल अतिसम्भावित राष्ट्रमा पर्छ ।

नेपालमा कृषिले जनसंख्याको ७६ प्रतिशत जनसंख्या धानेको बताइन्छ । कुल गार्हस्थ उत्पादनमा कृषिको ३९ प्रतिशत योगदान रहेको छ । तर, हामीसँग एउटा विडम्बना छ । ७६ प्रतिशत किसान भएको कृषि प्रधान मुलुकले ८३/८४ करोड अमेरीकी डलरको हाराहारीमा वार्षिक निर्यात गर्दा २ अर्बभन्दा बढीको आयात गर्छ । त्यसमा पनि कृषि उपज सामाग्री नै बढी आयात भएको पाइन्छ । कस्तो विडम्बना ! तरकारी विदेशबाट किनेर खान्छौँ हामी । जसले नेपाली भूमिमा उत्पादनको सम्भावनालाई गिज्याइरहेको छ ।

विस्तारै हाम्रो मुलुकको अर्थतन्त्र कृषिबाट विप्रेषणमा निर्भर हुँदै गएको छ । दैनिक बिदेसिरहेका सैयौँ युवाले विदेशी भूमिमा गई कमाएको पैसा अहिले अर्थतन्त्रको मेरुदण्ड बनेको छ । हाम्रा बाउबाजेदेखि गर्दै आएको खेतीलाई हामीले विस्तारै त्याग्दैछौँ ।

नेपालसँग आधुनिक प्रविधिको पहुँच छैन भनेर पन्छिने गरिन्छ । एक हदसम्म आधुनिक प्रविधिको अपर्याप्तता रहेको कुरा सत्य हो । तर, सोच वा अवधारणाको विकास र कार्यान्वयन हुन नसक्दा कृषिको विकास पछि परेको हो भन्ने कुरा उत्तिकै सत्य हो ।

विस्तारै हाम्रो मुलुकको अर्थतन्त्र कृषिबाट विप्रेषणमा निर्भर हुँदै गएको छ । दैनिक बिदेसिरहेका सैयौँ युवाले विदेशी भूमिमा गई कमाएको पैसा अहिले अर्थतन्त्रको मेरुदण्ड बनेको छ । हाम्रा बाउबाजेदेखि गर्दै आएको खेतीलाई हामीले विस्तारै त्याग्दैछौँ ।

हाम्रा बाउबाजे अहिले हामीजस्तै विदेश गएर कहिले जीवन चलाएनन् । उनीहरुले कुटोकोदालो गरी यही भूमिमा उत्पादन गरेर जीवन चलाए । आज विज्ञान र प्रविधिले फड्को मारेर हामी यति पर पुगिसकेका छौँ तर खेतीलाई आधुनिकीकरण गरेर अघि बढ्ने हिम्मत गरिरहेका छैनाैं ।

हलिउडको रेम्बो र बलिउडको खानले लगाउने फेसन हामी टपक्कै अनुकरण गर्छौं । जति नै खर्च गरेर भएपनि त्यस्तै देखिने प्रयास गर्छौं । तर, मुलुकको विकासको लागि हामीले अनुकरण गरेको खोइ ? के मुलुकको विकास अनुकरण गर्न सकिँदैन ? अरुले जस्तै हामीले प्रविधि भित्र्याउन वा हामीसँग भएका प्रविधिको प्रयोगबाट उत्पादन बढाउन सक्दैनौँ ? कृषि प्रधान मुलुक भन्ने अनि खेति गर्न चाहिँ यहुदी र मुसलमानको देशमा किन ? अर्बौंको तरकारी किन्नुपर्ने किन ? हामीलाई इतिहास, सम्भावना र बाँझो भूमिले गिज्याइरहेको छ ।

आज विदेशी एयरपोर्टमा नेपाली पासपोर्ट बाकेर हिँड्दा किन दुर्व्यवहार सहनुपर्छ ? नेपालमा रहेको अमेरिकी दूतावास अगाडि गएर एकछिन उभियो भने तुरून्तै हाम्रै प्रहरी आएर हटाइदिन्छ । विदेशमा हाम्रा नेपाली दाजुभाइ अनेक बहानामा मारिएका छन्, लुटिएका छन्, श्रम शोषणमा परेका छन् । तर, कुनै अमेरिकी नागरिकको नेपालमा आएर कालगतिले नै मृत्यु भयो भने त्यसबारे उच्चस्तरीय छानबिन समिति गठन हुन्छ ।

हामी नेपालीको बानीजस्तै भइसक्यो कि कुनै पनि कुराको दोष राज्य वा सरकारलाई थोपर्ने । तर, हामीले कहिले आफूलाई फर्केर हेरेनौँ । जसले गर्दा हामी निरन्तर ओरालिएका छौँ । मुलुकमा यतिका भूमिमा उत्पादनको प्रशस्तै सम्भावना छ । बारीमा झार उमारेर हामी सब्जी किन्न बजार जान्छौँ । त्यो बजारमा ल्याउने तरकारी पनि स्वदेशको भए त हुन्थ्यो नि ! त्यो पनि विदेशबाट आयात हुन्छ । हामी खेत बाँझो राखेर २०/५० हजार कमाउन विदेश जान्छौँ । अर्काको देशमा कुनै पनि काम गर्न तयार हुन्छाैं । त्यही श्रम हाम्रो मुलुकमा खर्च गर्न हामीलाई लाज लाग्छ । सरकारले उत्पादनमा लाग्न चाहनेलाई प्रोत्साहनमूलक विभिन्न कार्यक्रमहरु ल्याएको छ । गाउँ–गाउँमा लघुवित्त वित्तीय संस्थाहरु पुगिरहेका छन् । पढेलेखेका युवालाई सरकारी सहुलियतका कुराहरु छन् । तर, हामी खेत बेचेर बिदेश जान्छौँ । जसको सबैभन्दा बढी असर हाम्रै सन्ततीले भोग्नुपर्ने छ ।

आज विदेशी एयरपोर्टमा नेपाली पासपोर्ट बाकेर हिँड्दा किन दुर्व्यवहार सहनुपर्छ ? नेपालमा रहेको अमेरिकी दूतावास अगाडि गएर एकछिन उभियो भने तुरून्तै हाम्रै प्रहरी आएर हटाइदिन्छ । विदेशमा हाम्रा नेपाली दाजुभाइ अनेक बहानामा मारिएका छन्, लुटिएका छन्, श्रम शोषणमा परेका छन् । तर, कुनै अमेरिकी नागरिकको नेपालमा आएर कालगतिले नै मृत्यु भयो भने त्यसबारे उच्चस्तरीय छानबिन समिति गठन हुन्छ । यी सब देशको मतबुती र त्यस देशको आर्थिक धरातल अनुसार हुने व्यवहारहरु हुन् । अब हामी युवाले अरुको भूमिमा गएर काम गर्दा गर्दै मर्ने कि यही देशमा स्वाधीन र सर्वोच्चताका साथ उद्यमी बन्नेतर्फ अग्रसर हुने ? हाम्रासामु प्रश्न खडा भएको छ ।

हाम्रो शिक्षाले हामीलाई इतिहास सिकाउँछ । नाम, मिति, तिथि र माने कण्ठ गराउँछ । इजरायलमा मैले केही समय उत्तरी क्षेत्रमा पर्ने सी अफ ग्यालेलीस्थित किन्नरेट कलेजमा कृषि तालिम लिने मौका पाएको थिएँ । बेइत योसेफ भन्ने मोसफ क्षेत्रको विद्यार्थी नेताको रुपमा म त्यहाँ कार्यरत थिएँ । हरेक हप्ताको एक दिन कलेजमा कृषिसम्बन्धी विभिन्न शीर्षकमा पढाई हुन्थ्यो । ग्रीन हाउस भन्ने च्याप्टर आयो । नेपालमा हुन्थ्यो भने ग्रीन हाउसको लम्बाई, चौडाई, उचाई, दूरी, रंग, प्रकार यस्तै–यस्तै कुरा घोकाइन्थ्यो । तर, त्यहाँ ग्रीन हाउस नै बनाउन सिकाइँदो रहेछ । सम्बन्धित ठाउँमा लगेर ग्रीन हाउनको संरचना देखाइ त्यसबारे वर्णन गरिँदो रहेछ । सैद्धान्तिकमात्र नभएर व्यवहारिक ज्ञान दिइँदो रहेछ । नेपाल र इजरायलबीच शिक्षाको फरक यति पाएँ । त्यसैले कृषिको हकमा दिइने शिक्षालाई व्यवहारिक बनाउनुपर्छ ।

भएर पनि नभएको देश
युवा शक्तिलाई देशको कर्णधार भनिन्छ । आज ४० लाखभन्दा बढी युवा शक्ति विदेश पलायन भएको छ । कोही काम गर्ने उद्देश्यले वा कतिपय पढ्ने बाहानाले देश छाडिरहेका छन् । यी युवाहरु कुनै न कुनै रुपमा अरुको देश बनाउने काममा खटिएका छन् । आफ्नो देश यहाँ प्रताडित छ । बार्षिक खर्बौँ व्यापार घाटाबाट गुज्रिरहेको छ । खेतीयोग्य अथाह भूमि बाँझो छाडिएको छ । दिनदिनै मुलुक परनिर्भर हुँदै गएको छ ।

०७२ सालमा भारतले लगाएको नाकाबन्दीले अझै ठूलो यथार्थप्रति हामीलाई अवगत गराएको छ कि हामी कति धेरै परनिर्भर भइसकेका छाैं भनेर । तर, के हामी साँच्चै कमजोर हौँ त ? विलकुल होइन, हामीसँग सबैथोक छ ।

भूमि, प्राकृतिक अनुकुलता, जनशक्ति । तर, हामीसँग जाँगर र हिम्मत देखिएन । काभ्रे जिल्लाले बार्षिक ७ अर्बभन्दा बढीको तरकारी उत्पादन गरिरहेको छ । नुवाकोट, मकवानपुरले पनि केही मात्रामा उत्पादन गरेकै छन् । तर, काठमाडौँलाई त्यसले नपुगेर भारतका बिहारी र उतर प्रदेशका कृषकले फलाएको सब्जी किनेर खानुपरेको छ । पूर्वको विराटनगरमा आलुसमेत भारतबाट आयात भएको तीतो यथार्थ हाम्रासामु छ । त्यत्रो जमिनमा झार उमारेर युवाहरु विदेश गएर कमाउँछन, त्यो पैसा घरमा पठाउँछन र त्यही पैसाले उनीहरुका परिवारले भारतमा फलेको आलु किनेर खान्छन् । कति विडम्बना छ, हामीकहाँ । हामीसँग भएको कुराको पनि हामी उपयोग र सदुपयोग गर्न सकिरहेका छैनौँ ।

यहाँ कतिपयले वातावरण छैन, केही हुँदैन, केही छैन भन्ने तर्क पनि राखेको पाइन्छ । त्यसो त ७ दशक अघि इजरायलीसँग पनि त केही थिएन शिवाय जाँगर र साहस । १०/१५ वर्षअघि भुटान पनि त आर्थिक रुपमा हामीभन्दा पछाडि थियो । श्रीलंका, पाकिस्तान, अफगानिस्तान हामीजस्तै यद्धको धरातलबाट आएका मुलुक हुन् । यी मुलुकमा अझै पनि गृहयुद्ध चलिरहेकै छ । तर, यिनीहरुको अर्थतन्त्र हाम्रोजस्तो कमजोर छैन । धेरै टाढाको कुरा किन गर्ने, हाम्रासामु भारतको गुजरात गतिलो उदाहरणको रुपमा छ । छोटो समयमा कृषिलाई एउटा गतिलो उद्योगका रुपमा स्थापना गरेर गुजरातले आफूलाई कति उदाहरणीय साबित गरिदिएको छ । यी कुराबाट हामी युवावर्ग, राजनीतिज्ञ र आम बुद्धिजिबीले नसिक्ने हो भने देश कहिले बन्छ ? सधैँभरि काँधमा झोला बोकेर बिदेसिनुले हाम्रा सन्ततीको भविष्य सुनिश्चित हुन्छ ?

निश्चय पनि राज्यका केही कमी कमजोरी अवस्य छन् । सरकारले छुट्याउने कृषि अनुदान, युवा लक्षित कार्यक्रम प्रभावकारी छैनन् । यो त्यत्रो ठूलो संकट होइन । संकट यो हो कि, यी सब कार्यक्रम प्रभावकारी भएनन् भनेर देशमा भएका युवा जति विदेशिनु । देश र भविष्यका सन्ततीको माया गर्नेहरुले घोत्लनै पर्ने बेला हो । विप्रेषणले देश सधैँभरि चल्ने छैन । सन्ततीको भविष्य उज्जवल, स्वाधीन र सर्वोच्चतापूर्ण चाहने हो भने विदेश भागेर त्यो चाहाना पूरा हुनेवाला छैन । नेपालमै देशमा मेहनत गर्ने र पैसा खोज्नुपर्ने बेला हो ।

देश बलियो भयो भने सन्तानको भविष्य बलियो हुनेछ । देश बलियो भयो भने युरोप र अमेरिकाको भिसा लाग्दा करोडौँको लोट्री परेजस्तो गरी दंग हुनुपर्ने छैन । यही देशको नागरिक भएकोमा गर्व गर्न सकिनेछ । मजस्ता युवाले कृषि विकासको उदाहरण हेर्न मरुभूमिको देश जानुपर्ने छैन ।

 

देश बलियो भयो भने सन्तानको भविष्य बलियो हुनेछ । देश बलियो भयो भने युरोप र अमेरिकाको भिसा लाग्दा करोडौँको चिठ्ठा परेजस्तो गरी दंग हुनुपर्ने छैन । यही देशको नागरिक भएकोमा गर्व गर्न सकिनेछ । मजस्ता युवाले कृषि विकासको उदाहरण हेर्न मरुभूमिको देश जानुपर्ने छैन । उनीहरु नै हामीकहाँ आउने छन्, कृषि पढ्न र कृषि विकास हेर्न । तर, त्यसका लागि युवा वर्ग नै लाग्नुपर्छ । लाग्ने भनेको बिदेशिएर पक्कै होइन । यहि देशको माटोलाई उपयोग गरेर, नेपालकै भूमिको प्रयोग गरेर, बिदेशी भूमिमा बगाउने पसिना आफ्नै देशमा बगाएर । यी कुराहरु झट्ट सुन्दा वा पढ्दा अव्यवहारिक लाग्लान् तर युवा शक्ति विदेशिने क्रम नरोकिने हो भने मुलुकको विकास अन्य कुनै रणनीतिले पनि सम्भव हुनेछैन, भएपनि त्यो दीर्घकालीन हुने छैन ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु