गृहपृष्ठ प्रहरीबाट ठूलो भूल भएको छ, दोषी एसपी नै भए पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता
प्रहरीबाट ठूलो भूल भएको छ, दोषी एसपी नै भए पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता
![ssp-sailendra-thapa-newskarobar](https://archive.newskarobar.com/wp-content/uploads/2018/09/ssp-sailendra-thapa-newskarobar.jpg)
बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा एसपी डिल्लीराज बिष्ट स्वयंको डीएनए परीक्षण सुरु भएको छ । बिष्टसँगै उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका प्रमुखका छोरा आयुष बिष्टको समेत डीएनए परीक्षणका लागि नमुना रगत संकलन गरिएको छ । कञ्चनपुरमा तत्कालीन प्रहरी अधिकृतहरुबाट अनुसन्धानमा लापर्बाही भएको भन्दै अब त्यस्तो गल्ती नहुने नेपाल प्रहरीले जनाएको छ । भीआईपी अपराधीलाई जोगाउन खोजेको भन्दै कञ्चनपुरसहित देशभर नै आन्दोलनको आगो सल्किएका बेला सर्वाधिक आशंका गरिएका भीआईपी आरोपीकै डीएनए परीक्षण गर्न लागिएको हो । घटनामा प्रहरीको लापर्बाही र अबको कदमबारे नेपाल प्रहरीका प्रवक्ता एवं एसएसपी शैलेस थापा क्षेत्रीसँग गरिएको कुराकानी :
सर्वाधिक आशंका गरिएका भीआईपी आरोपीहरुकै डीएनए परीक्षण सुरु गर्नुभएको छ । अब वास्तविक दोषी पत्ता लाग्ला ?
लाग्छ । यसमा तपाईंलाई ढुक्क हुन म आग्रह गर्छु । किनभने घटनालगत्तै स्थलगत रुपमा नेपाल प्रहरीबाट अनुसन्धानमा लापर्बाही भएकै हो । यो कुरा छानबिन समितिको अध्ययन, नयाँ खटिएका अनुसन्धान अधिकृत र आरोपी भनिएका दिलिपसिंह बिष्ट निर्दाेष रहेको डीएनए परीक्षणको रिपोर्ट हेरिसकेपछि लापर्बाही भएको पुष्टि भएको छ । त्यसैले हामीले त्यहाँ खटिएका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई निलम्बन गर्यौं र अनुसन्धानलाई सहज बनायौँ । त्यत्तिमात्रै नभएर, अहिले दोषी पत्ता लगाउन निलम्बनमा रहेका एसपी बिष्टकै डीएनए परीक्षणमा हामी लागिपरेका छौं । अब यो घटनालाई प्रहरीको सर्वाेच्च निकायले नै हेरिरहेको छ, पूरै देशले हेरिरहेको छ । अब कुनै प्रकारको त्रुटी हुँदैन । हामी दोषी पत्ता लगाएरै छाड्छौँ, कानुनबमोजिम कारबाही गरेरै छाड्छौँ । निर्मला पन्त र उनका परिवारलाई न्याय दिलाएरै छाड्छौँ ।
डीएनए परीक्षणको परिणामसमेत उल्टो निकालेर प्रहरीले वास्तविकता लुकाउँछ कि भन्नेसम्मका आशंका पीडित परिवारमा छ नि !
त्यस्तो आशंका नगर्न नेपाल प्रहरी आग्रह गर्दछ । डीएनए परीक्षणलाई विश्वास गर्न म अनुरोध गर्छु । नेपाल प्रहरी वास्तविक दोषी पत्ता लगाउन धेरै अघि बढिसक्यो भन्ने केही उदाहरण म तपाईंलाई पेस गरौँ । नक्कली व्यक्तिलाई दोषी करार गर्नु नै थियो भने दिलिपसिंह बिष्टकै डीएनए परीक्षणलाई फेक बनाएर उनी नै दोषी हुन् भन्ने रिपोर्ट सार्वजनिक गरेको भए हुन्थ्यो होला नि त ! जिल्लामा रहेका तत्कालीन अनुसन्धान अधिकृतले गरेकै अनुसन्धानलाई आधार मानेको भए हुन्थ्यो होला नि ! यो घटना अब केन्द्रीय प्रहरीले बडो चनाखोपूर्ण रुपमा हेरेको छ । अहिले डीएनए परीक्षणका लागि स्याम्पल लिइएका व्यक्ति जो–जो छन्, उनीहरुको रिपोर्ट साँचो आउँछ । यसमा हामी सबै ढुक्क हाऔं । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा कुनै शंका गर्नु नै बेकार हो ।
भनेपछि अब यी तीनमध्ये जो कोही पनि दोषी ठहरिने निश्चित छ, होइन त ?
त्यो अहिले भन्न सकिँदैन । हामीले पनि उच्चस्तरीय छानबिन समितिको हालसम्मको अनुसन्धानबाट आएको रिपोर्ट, प्रहरीको अनुसन्धान, त्यहाँका सर्वसाधारण, पीडित परिवारलगायत घटनासँग सम्बन्ध राख्ने सबै पक्षसँगको अनुसन्धानबाट यी तीन व्यक्तिको डीएनए परीक्षण गर्न लागेका हौं । अनुसन्धानमा नयाँ ट्विस्ट आएकोमात्रै हो । घटना अझै पनि अन्तिममा पुगेको छैन । यद्यपि नेपाल प्रहरी घटना अनुसन्धानको अन्तिमतर्फ पुगिसकेको छ । अहिलेलाई यत्ति बुझौँ ।
अपराधी बचाउन प्रहरीले गरेको नौटंकीका कारण सर्वस्त्र अविश्वास बढेको छ । एसपी बिष्ट स्वयं घटनामा संलग्न रहेछन् भने कारबाहीको दायरामा ल्याउनुहुन्छ ?
म तपाईंलाई फेरि पनि भन्छु, घटनालगत्तै स्थानीय तहमा नेपाल प्रहरीबाट ठूलो भुल भएको छ । यसमा नेपाल प्रहरीले महसुस गरेको छ । तर, अहिले यो घटनामा सिंगो देशको नजर छ । केही व्यक्तिका कारण सिंगो नेपाल प्रहरी बदनाम हुनै चाहँदैन । यसमा हामी गम्भीर छौँ । नेपाल प्रहरी पीडितलाई न्याय दिलाउनबाट पन्छिएर एउटा एसपी जोगाउनतिर कदापि लाग्दैन ।
डीएनए परीक्षणको रिपोर्ट कहिले आउँछ ?
आजै (बिहीबार) बाट फरेन्सीक ल्याब (केन्द्रीय विधि विज्ञान प्रयोगशाला) मा नमुना रगत पुगिसकेको छ । तीनै जनाको परीक्षण पालैपालो हुन्छ । सुरुमा निलम्बनमा रहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टको ल्याब टेस्ट भइरहेको छ । त्यसपछि अरु दुईजनाको हुन्छ । रिपोर्ट एकैपटक आउनेछ । करिब दुई हप्ता लाग्ने देखिएको छ । त्यति समय धैर्य गरौँ ।
भनेपछि डीएनए परीक्षणको रिपोर्ट पर्खंदा अब दुई हप्ता अनुसन्धान कार्य स्थगित हुन्छ ?
अनुसन्धान स्थगित हुँदैन । हामी अन्य तरिकाबाट पनि घटनाको सूक्ष्म अनुसन्धान गरिरहेका हुन्छौँ । छानबिन समितिले काम गरिरहेको छ । नेपाल प्रहरीको अनुसन्धान पनि जारी छ ।
प्रकाशित समय २२:३० बजे