गृहपृष्ठ सहयोगको नाममा अमेरिकाले उल्टै कोरोना भाइरस फैलाउन सक्छ : इरानी सर्वोच्च नेता

सहयोगको नाममा अमेरिकाले उल्टै कोरोना भाइरस फैलाउन सक्छ : इरानी सर्वोच्च नेता

इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड-१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन् ।

इरानी नेताले चाहेमा अमेरिकाले कोभिड-१९ विरूद्धको लडाईँमा सहयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईको जवाफमा सर्वोच्च नेता खामेनीले उक्त प्रतिक्रिया दिएका हुन् ।

एक इरानी राष्ट्रिय टेलिभिजनमार्फत जनताको नाममा गरेको सम्वोधनमा धार्मिक नेता खामेनीले अमेरिकी राष्ट्रपतिको गत फेब्रुअरी २९ मा इरानबारे राखेको प्रस्तावलाई इन्कार गर्दै भने, ‘तपाईँलाई कसैले विश्वास गर्दैन । तपाईले इरानमा सहयोगको नाममा ल्याउने औषधी इरानको नागरिकको पक्षमा हुनेमा हामीलाई विश्वास छैन ।’

खामेनीले इरानले अमेरिकी सहयोगलाई अस्वीकार गर्नेबारे दोहोराउँदै र वासिङ्टनलाई इरानविरोधी शत्रुको आरोप लगाउँदै भने, ‘हामीले अमेरिकासँग ४० वर्षदेखि कूटनीतिक सम्बन्ध राखेका छैनौँ र उसले इस्लामिक गणतन्त्रमा भाइरस निर्मूलका नाममा उल्टै फैलाउन सक्छ भन्ने बुझेका छौँ ।’ उनले अहिले इरानले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रूपमा लिएको पनि बताए ।

हामीले अमेरिकीलाई यही अवस्थामा सहयोगका लागि याचना गर्ने सम्भावना नै छैन । अमेरिकाले अहिले आफ्नो शक्ति नागरिकको सुरक्षाका लागि प्रयोग गर्न राष्ट्रपति ट्रम्पलाई उनले सुझाव दिए ।

आइतबार इरानमा थप १२९ जनाको मृत्यु भएको छ । इरानमा कोभिड-१९का कारण अहिलेसम्म एक हजार ६८५ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । इरानमा २१ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने विगत २४ घण्टामा थप एक हजार २८ विरामीमा संक्रमण देखिएको छ ।

प्रकाशित समय २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु