गृहपृष्ठ इन्टरनेट हेरेर ‘भगवान’ बनाउँछन् दिनेश

इन्टरनेट हेरेर ‘भगवान’ बनाउँछन् दिनेश

मूर्ति बनाएर बिक्री गरी मासिक रु ४० हजार आम्दानी गर्दै कञ्चनपुर झलारी बजारका मूर्तिकार दिनेश विक ।
मूर्ति बनाएर बिक्री गरी मासिक रु ४० हजार आम्दानी गर्दै कञ्चनपुर झलारी बजारका मूर्तिकार दिनेश विक ।

शेरबहादुर सिंह । कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित भए । एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्तीहरु बनाउन थालेका उनी पछिल्ला वर्षहरुमा विभिन्न देवीदेवताका मूर्ती बनाएर मासिक रु ४० हजार भन्दा बढी आम्दानी गरिरहेका छन् ।
‘अन्य खर्च कटाएर मासिक रु ४० हजारभन्दा बढी नै बचत हुन्छ,’ उनले भने, ‘परिश्रम गरे विदेशिनु पर्दैन ।’ उनको परिवार शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका हुन् । आफूसहित तीन भाइबहिनी अध्ययनमा रहेका बेला पारिवारिक समस्याका कारण आफू विद्यालय छाड्न वाध्य भएको उनले बताए । ‘परिवारको अवस्था सुध्रोस् भनेर बुबाआमा टहरामा भगवान् पुकारेर बस्थे,’ विकले विगत सम्झिँदै भने, ‘तिनै भगवान्का मूर्ति बनाउने सीपले म आज परिवारको खर्च धान्न सक्ने भएको छु ।’
शुक्लाफाटाको झलारी बजारमा मूर्ति र कलाको पसल थापेको पाँच वर्षमै आफूले राम्रो आम्दानी लिन सकेको उनले बताए । ‘धेरै नपढेको भएपनि इन्टरनेटमा मूर्ति बनाउने भिडियोहरु हेरेरै मूर्तिको व्यापार बढाएको छु,’ विकले भने, ‘इच्छाशक्ति भए अध्ययन नै चाहिन्छ भन्ने होइन रहेछ ।’ मूर्ति बनाउने भिडियोहरुबाट आफूले बनाउन सिकेको उनको भनाइ छ । ‘कलात्मक मूर्ति बनाउन सिकाउने गुरु भनेकै इन्टरनेट हो,’ उनले भने, ‘एउटा मूर्ति महिना दिनमा तयार हुन्छ ।’
नयाँ वर्ष र दशैं लगायतका चाडपर्वका बेला मूर्तिहरु धेरै बिक्री हुने गरेको उनले बताए । ‘चाडपर्वका बेला त खर्च कटाएर मासिक रु ७०/७५ हजार सम्म बचत हुन्छ,’ उनले भने, ‘एउटै मूर्ति रु १ लाख २० हजारसम्ममा बिक्री गरेको छु ।’ आफूले सिमेन्टका तीन फिटभन्दा अग्ला मूर्तिहरु बनाउने गरेको र धेरैजसो रु ३० हजारदेखि माथिको मूल्यमा बिक्री हुने गरेको उनले बताए । ‘शुरुमा घरकै अभिभावकहरु मूर्ति बनाएर के गुजारा होला भन्थे,’ उनले भने, ‘यही व्यापारबाट घर चलेको छ ।’
उनले भगवान् शिव–पावर्ती, गणेश, कालिका लगायतका देवताका धेरै मूर्तिहरु बनाएर बिक्री गरिसकेका छन् । अब निकट भविष्यमै कृष्णसारको मूर्ति बनाउने उनको योजना छ । झलारी बजारमा सन्देश आर्ट नामक पसल सञ्चालन गरेका विकले दुई जनालाई रोजगारी समेत दिएका छन् । ‘दुई जनालाई पेन्टिङ्गको काम दिएको छु,’ उनले भने, ‘मैले बनाएका मूर्तिले ग्राहक सन्तुष्ट छन् जस्तो लाग्छ । अहिलेसम्म असन्तुष्टिका शब्द सुन्नुपरेको छैन ।’
सिमलफाटामा अढाई कट्ठा जग्गा लिज लिएर बस्दैआएको विक परिवारले निकुञ्जबाट विस्थापित हुँदा कुनै सहयोग पाएका थिएनन् । ‘विस्थापित भएपछि परिचय पत्र त पायौं, अरु सहयोग केही पाएको छैन,’ उनले भने, ‘आश्वासनमै दशक बित्यो । राहत पाएनौं ।’ सानै उमेरदेखि कलात्मक चित्रहरु बनाउन सौखिन विकले मूर्ति बनाउन थालेको पनि एक दशक भयो । उनले भने, ‘अहिले आधुनिक मूर्ति बनाउने यहाँ अरु कोही भेटेको छैन ।’ कञ्चनपुरका विभिन्न ठाउँका साथसाथै बैतडी, डडेल्धुरा र कैलालीबाट समेत आफ्नो मूर्तिको माग हुने गरेको उनी बताउँछन् ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु