गृहपृष्ठ अविरल वर्षापछि कैलाली जलमग्न, घर भत्किएर एकजनाको मृत्यु

अविरल वर्षापछि कैलाली जलमग्न, घर भत्किएर एकजनाको मृत्यु

अविरल वर्षाका कारण कैलालीमा घर भत्किएर एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराति घर भत्किएर गोदावरी नगरपालिका–९, धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सुतिरहेका बेला घर भत्किँदा च्यापिएर उनको मृत्यु भएको हो । घरले च्यापेर मृतक रानाका श्रीमान ६५ वर्षीय कडेवा राना घाइते भएका छन् । कैलालीलगायत प्रदेश ७ का सबै जिल्लामा वर्षा भइरहेको छ ।

निरन्तरको वर्षा र डुवानले कैलालीको लम्कीचुहा नगरपालिका, टिकापुर नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहोन्याल गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । वर्षातका कारण लम्कीचुहाका निर्माणाधीन सबै सडक हिँड्डुल गर्न नमिल्ने भएका छन् ।

आइतबार रातिबाट परेको अविरल वर्षापछि अधिकांश क्षेत्र जलमग्न भएका छन् । ढल निकासको उचित व्यवस्थापन नहुँदा सबैजसो बजार तथा गाउँ क्षेत्रका चोकहरु डुबानमा परेका छन् । अत्तरिया बजारका करिब एक दर्जनभन्दा धेरै पसलमा पानी पसेको छ । अविरल वर्षाकै कारण अत्तरिया–धनगढी सडक क्षेत्रसमेत प्रभावित भएको छ । अत्तरिया–मोहन ६ लेन सडकमा निर्माणाधीन कल्भर्टका कारण पानी अवरुद्ध हुँदा समस्या भएको छ ।

वर्षाकै कारण अत्तरिया–धनगढी सडकका विद्युतका पोल ढलेर अलपत्र परेका छन् भने करेन्टको जोखिम बढेको छ । सोमबार बिहान अत्तरिया–धनगढी सडक खण्डको गेटामा विद्युत पोलबाट चुहावटका कारण करेन्ट लागेर एउटा गोरु मरेको छ ।

निरन्तरको वर्षासँगै कैलालीका अधिकांश नदीमा पानीको सतह बढेको छ । कर्णाली नदीमा पानीको बहाव चेतावनी चिह्ननजिक र मोहना नदीमा खतराको चिह्ननजिक पुगेको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार मोहना नदीमा पानीको सतह २.९८ मिटर पुगेको छ । मोहना नदीमा चेतावनी २ मिटर हो भने ३ मिटरमा खतराको चिह्न हो ।

मोहना नदीमा पानीको सतह खतरानजिक पुगेपछि धनगढी र आसपासका बस्ती जोखिममा परेका छन् । कर्णाली नदीमा खतराको स्तर १०.८ मिटर रहेकोमा अहिले ७ मिटर पुगेको जिल्ला आपतकालीन सञ्जालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सप्तकोशीमा पानीको बहाव बढ्यो

प्रकाशित समय १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु