गृहपृष्ठ वर्षाका कारण सिराहाको जनजीवन प्रभावित
वर्षाका कारण सिराहाको जनजीवन प्रभावित

लगातारको वर्षाका कारण पानी जमेर सिराहाको जनजीवन प्रभावित भएको छ । सिरहाको मिर्चैयामा वर्षाको पानी जमेकाले जनजीवन प्रभावित भएको हो ।
शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो ।
मिर्चैयाको थाना चोक र बजारका अधिकांश घरमा पानी पसेको छ भने मिर्चैयाका सडक तथा बाटो जलमग्न भएको छ । नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ ।
सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्नसमेत कठिनाई भएको स्थानीय महेन्द्र साहले बताए । अविरल वर्षाका कारण मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।
(रासस)
प्रकाशित समय १३:०० बजे