गृहपृष्ठ बाढी र पहिरोमा परी देशभर पाँचजनाको मृत्यु, तराई जलमग्न

बाढी र पहिरोमा परी देशभर पाँचजनाको मृत्यु, तराई जलमग्न

फाइल तस्बिर

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । आइतबारदेखि परेको पानीले पहाडी क्षेत्र पहिरोको जोखिममा परेको छ भने तराई क्षेत्र बाढी र डुबानको चपेटामा परेको छ । पहिरो र डुबानमा परी पाँच जनाले ज्यान गुमाएका छन् ।

भारी वर्षाका कारण पुल तथा कल्भर्ट भत्किएर ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् भने जिल्ला सदरमुकाम र बजार क्षेत्र जलमग्न बनेका छन् । तराईका सप्तरी, जनकपुर, वीरगन्ज, नेपालगन्ज, कैलालीलगायतका जिल्ला जलमग्न बनेका छन् । नजिकका खोलामा पानीको सतह बढेर बजार क्षेत्रमा प्रवेश गरेपछि तराईका अधिकांश बजार तथा पसल बन्द छन् । सप्तकोशी, कर्णाली, मोहनालगायतका नदीमा पानीको सतह खतरानजिक पुगेको छ ।

जलमग्न वीरगन्ज

 

पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । पर्खाल भत्किएर राजकुमार बिकको घर पुरिँदा रुन्टीगढी गाउँपालिका–५, सोइबाङमा श्रीमती २२ वर्षीया कमला, १८ दिनकी छोरी आयुषा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको हो ।

रोल्पामा पर्खाल भत्किएर पुरिएको घर ।

अविरल वर्षाका कारण कैलालीमा कच्ची घर पुरिँदा गोदावरी नगरपालिका–९, धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको छ । सुतिरहेका बेला घर भत्किएर उनको मृत्यु भएको कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए ।

बाँकेको बैजनाथ गाउँपालिका–५, दलिपुरमा नालामा डुबेर ३५ वर्षका लोकबहादुर सुनारको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । बैजनाथकै जेठीनाला तर्ने क्रममा बगेर ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएका हुन् ।

यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो गएको छ । पहिरोले जिपसमेत पुरेको थियो तर समयमै उद्दार भएकाले कुनै मानवीय क्षति हुन पाएन । दाङमा पनि बाढीले बस बगाएको छ । बबई गाउँपालिका–५ मा पर्ने ट्वाङ खोलामा आएको बाढीले बस बगाएको हो । दाङ प्रहरीले बसमा रहेका दुवैजनालाई तत्काल उद्दार गरेको छ ।

अविरल वर्षाका कारण वीरगन्जका श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय परिसर, नगवालगायतका क्षेत्र जलमग्न भएका छन् । आदर्शनगर क्षेत्र तथा नारायणी अस्पतालआसपासका क्षेत्रमा एक फिटसम्म पानी जमेको छ । ढल तथा नाला व्यवस्थापन नभएका कारण बजार क्षेत्र डुबानमा परेको हो ।

आइतबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भासिएको छ । रिउ खोलाको पानी खतरा सूचकभन्दा माथि पुगेपछि स्थानीय प्रशासनले सतर्कताका लागि अपिल गरेको छ । सडक अवरुद्ध भएसँगै जिल्ला सदरमुकामसँग माडीको यातायात सम्पर्क टुटेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, छेपारेमा पहिरोले सडक पुरेपछि मदन भण्डारी मार्ग अवरुद्ध भएको छ । निर्माणाधीन सडकमा पहिरो खसेपछि हेटौंडा– कुलेखानी– सिस्नेरी– दक्षिणकाली खण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

 

यो पनि पढ्नुहोस्

अविरल वर्षापछि कैलाली जलमग्न, घर भत्किएर एकजनाको मृत्यु

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु