गृहपृष्ठ सगरमाथा क्षेत्र : विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टरप्वाइन्ट’

सगरमाथा क्षेत्र : विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टरप्वाइन्ट’

 

अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ । कार्वन उत्सर्जनका कारण पृथ्वीको तापमान वृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन् । अझ हिमाल, हिमनदी र हिमतालहरुका बारेमा अध्ययन गरिरहेका विद्यार्थीहरुले त नेपालको हिमालय क्षेत्रलाई अध्ययनको केन्द्र नै बनाएका छन् । पछिल्ला वर्षहरुमा पृथ्वीको तापमान वृद्धि र त्यसको असरका बारेमा अध्ययन गर्न सर्वाेच्च शिखर सगरमाथालाई केन्द्रित गरी नेपाल आउने विद्यार्थीको संख्या बढेको हो ।

जलवायु परिवर्तनको असरबारे अध्ययन गरिरहेको हिमालयन रिसर्चले यसरी अध्ययनमा आउने विद्यार्थीका लागी समन्वय गर्ने गरेको छ । खुम्बु क्षेत्रमा हिमचुचुरा, हिमताल, हिमनदीमा देखिएको बदलाबका बारेमा अध्ययन गर्न फरक–फरक मौसममा विद्यार्थीहरु यहाँ पुग्छन् । यकिन तथ्यांक नभएपनि २०७२ सालको भुकम्पपछि अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या तुलनात्मक रुपमा बढेको हिमालयन रिसर्चका अध्यक्ष डा. धनन्जय रेग्मीले बताए । हिमालयन रिसर्चबाट मात्रै अहिलेसम्म २ सय ४१ विद्यार्थी खुम्बुका विभिन्न हिमतालहरुमा पुगिसकेका छन् ।

खुम्बु क्षेत्रमा पछिल्ला एक दशकमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको भन्दै लामो समयदेखि खुम्बु क्षेत्रमा ट्रेकिङ गाईडको रुपमा काम गर्दै आएका दिप राईले हिमालहरु कालापत्थरमा रुपान्तरण हुँदै गएको बताए । गत जेठ महिनामा पनि गोक्यो हिमताल रिसर्चको लागी अमेरिकाबाट विज्ञसहित विद्यार्थीको समूह नेपाल आएको थियो । उक्त समूहले गोक्यो तालको तापक्रम, सतहको रेकर्डका लागि प्रविधि जडान गरेर छोडेको छ ।

जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पार्ने प्रभावका बारेमा वैज्ञानिक, भूगर्वविद् तथा विदेशी विद्यार्थीहरु अध्ययन अनुसन्धानको केन्द्रविन्दु नेपालको हिमालय क्षेत्र बनेको हो । अमेरीकास्थित एक विश्वविद्यालयबाट आएकी विद्यार्थी लोरेनले गोक्यो तालको अध्ययन अनुसन्धान पहिलो प्राथमिकता भएको बताइन् । उनले भनीन्, ‘हाम्रो अध्ययन गोक्यो तालमा तापक्रमले पारेको प्रभाव, तालको सतह घटबढ लगाएत विषयमा केन्द्रित छ ।’

यता जल तथा मौसम विज्ञान विभागले यसरी विदेशी विद्यार्थीहरुले नेपालका हिमालय क्षेत्रहरुमा गरिरहेको अध्ययनको कुनै रेकर्ड नराखीएको जनाएको छ ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु