गृहपृष्ठ राउटेको बदलिँदो जीवनशैली : अचेल पैसा छुँदा पाप लाग्दैन

राउटेको बदलिँदो जीवनशैली : अचेल पैसा छुँदा पाप लाग्दैन

पत्रकारसँग राउटेको सर्त : एउटा पोजको तीन सय !

raute-newskarobar फाइल तस्बिर

धेरै कुरा समयसँगै परिवर्तन हुन्छन् । विगतमा निकै अनौठा लाग्ने कुरा अहिले सामान्य लाग्छन् र आत्मसात गरिन्छन् ।

जंगललाई घर र कन्दमूललाई खाद्यान्न बनाउने राउटेहरु केही अघिसम्म पैसा छुँदा पाप लाग्छ भन्थे । तर, अचेल उनीहरुमा पैसा मोह बढेको छ । उनीहरु सहरी संस्कृतिको प्रभावमा पर्न थालेका छन् । सहर घुम्न मन गर्छन् ।

राउटेहरुले लगाउने पोसाक भने उस्तै छ । तर, अचेल उनीहरुका पैतालामुनि चप्पल हुन्छ, यदाकदा जुत्ता पनि लगाउँछन् । तर, राउटेहरु आज पनि समाजका लागि एउटा मिथककै रुपमा छन् । सडकमा राउटे देख्दा बालबालिकादेखि ठूलासम्मले उस्तै गरी अनौठो मानेर हेर्छन् ।

raute1-newskarobar

केही दिनअघि सुर्खेतका रोडमा चार भाइ राउटे देखिए । लोपोन्मुख जाति राउटेले तस्बिर लिन खोज्दा मानेनन् । क्यामेरा तेस्र्याएपछि पैसा मागे । त्यो पनि एउटा पोजको तीन सय रुपैयाँ । उनीहरु वीरेन्द्रनगरस्थित सुर्खेत क्याम्पस रोडको एउटा होटलमा छिरे र चाउमिन मागेर खान थाले ।

विगतमा राउटेहरु गाउँघरतिर सन्दुक बेच्न आउँथे । तर, पैसा छुन मान्दैनथे । पाप लाग्छ भन्थे र अन्न लिएर जान्थे । पैसा छोए पाप लाग्छ भन्ने राउटे जाति अहिले तस्बिर खिच्न खोज्दा पैसा माग्ने भएका छन् ।

राउटे महिलाहरू अझ परम्परागत विश्वासभन्दा माथि उठ्न थालेको पाइन्छ । अचेल उनीहरू अाफ्ना पुरूषबाट लुकाएर गैरसरकारी संस्थाले दिएका एलोपेथिक अाैषधि प्रयोग गर्छन् । शिक्षा अार्जनमा पनि राउटेको पछिल्लो पुस्ता अग्रसर देखिँदै गएको छ । मुखियाबाट छलिएर भए पनि उनीहरू जागिर खान चाहन्छन् ।

अाफूलार्इ जंगलको राजा ठान्ने र जंगली जडीबुटी र कन्दमूलको यथेष्ट ज्ञान भएका राउटे समुदायमा समय अन्तरालसँगै परिवर्तन आउनु स्वाभाविक प्रक्रिया हो । पुरातन सभ्यताबाट बाहिर निस्कन खोज्नु सकारात्मक पनि छ । तर, एकातिर ग्रामीण तथा सहरी सभ्यताअनुसार व्यवस्थित बसोबास गर्न नखोज्नु र अर्कोतिर आफ्नै संस्कृति र आफ्नोपन गुमाउँदै जाँदा राउटे जातिको झनै बिजोग हुने त होइन ? प्रश्न उब्जिएको छ ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु