गृहपृष्ठ राजपामा अब एकल नेतृत्व

राजपामा अब एकल नेतृत्व

rajapa-newskarobar

राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालमा अध्यक्ष मण्डल नरहने प्रस्ताव सहितको प्रतिवेदन राजनीतिक समितिमा पेश भएको छ । पार्टीको विधान अध्ययन गरि एकीकृत गर्न गठित कार्यदलले अध्यक्ष मण्डलको प्रावधानलाई हटाएर एकल अध्यक्षको व्यवस्था सहितको प्रस्ताव गरेको हो ।

केन्दीय कार्यालय बबरमहलमा जारी बैठकमा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल रहेको कार्यदलले महाधिवेशनपछि एक जना अध्यक्ष, दुईजना सह–अध्यक्ष, तीनजना महासचिव, तीन जना सहअध्यक्ष, एक जना कोषाध्यक्ष र एकजना प्रवक्ता रहने प्रस्ताव गरेको जनाइएको छ ।

एकल अध्यक्षको व्यवस्था गरेपनि वरिष्ठ एवं प्रमुख नेताहरुलाई व्यवस्थित गर्न १४ सदस्यीय कार्यकारिणी सल्लाहकारको व्यवस्था समेतको प्रस्ताव गरिएको छ ।
कार्यकारिणी सल्लाहकार समितिले अध्यक्षलाई सल्लाह दिनेछ । अध्यक्षले सल्लाहकारको सल्लाहको आधारमा काम गर्नुपर्ने प्रावधान राखिएको छ ।

गएको वर्ष मधेस केन्द्रित ६ दल एक भएर राजपा गठन हुँदा निर्वाचन आयोगमा एक वर्षभित्र महाधिवेशन गर्ने जानकारी दिइएको थियो । तर, राजपाले आन्तरिक कलहका कारण महाधिवेशन गर्न सकेन ।

राजनीतिक समितिको बैठकमा पार्टीको विधानमाथि छलफल, महाधिवेशनका सबै कार्यक्रम घोषणा गर्ने लगायत विषयमा छलफल भइरहेको राजपाका महासचिव मनिस सुमनले न्युजकारोबारलाई बताए । राजपालाई निर्वाचन आयोगले महाधिवेशनका लागि ताकेता गर्दै पत्र काटिसकेको छ ।

जेठको पहिलो हप्ता बसेको राजनीतिक समितिको बैठकले महाधिवेशन २०७६ वैशाख ७ देखि ९ गतेसम्म गर्ने निर्णय यसअघि गरिसकेको छ । विधान पारित भएपछि राजपालाई संसदीय दल गठनको बाटो खुल्नेछ ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु