गृहपृष्ठ सप्कोशीमा ‘खतराको घण्टी’, कोशी बहाव यो वर्षकै उच्च
सप्कोशीमा ‘खतराको घण्टी’, कोशी बहाव यो वर्षकै उच्च

पूर्व पहाडी क्षेत्रमा परेको वर्षाका कारण सप्तकोशी नदीको बहाव बढेको छ । कोशी व्यारेजमा रहेको कन्ट्रोल रुमले दिएको जानकारी अनुसार आइतबार बिहान कोशीको बहाव २ लाख २२ हजार ६ सय ३२ क्युसेक प्रतिसेकेण्ड छ जुन यो वर्षकै उच्च हो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी क्षेत्र कोशी वेसिनमा अत्यधिक बर्षा भएकाले सप्तकोशीमा पानीको बहाव बढेको हो ।
शनिबार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । कोशीमा पानीको बहाव उच्च भएपछि आइतबार व्यारेजका ५६ ढोकामध्ये २९ वटा ढोका खोलिएको छ । शनिबार २३ ढोकामात्र खुला गरिएको थियो ।
भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि जोखिम बढेको छ ।
पानीको बहावमापन हालसम्म नेपाली पक्षले भारतीय कन्ट्रोल रुमले दिएको आधारमा प्रयोग हुने गरेको छ । कोशी व्यारेजमा भारतीय पक्षले राखेको उपकरणले नदीको बहाव मापन गर्ने र चतरको पुलमा राखिएको रडारले पनि सोही काम गर्ने भएपनि कोशीको पूर्वी र पश्चिमीतटमा बस्नेहरुका लागि चतराको राडार उपयोगी स्थानीयले बताउँदै आएका छन् ।
आजको मौसम
आज मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमका प्राय सबै क्षेत्रमा मौसम बदली भइ हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले बताइन् । मनसुनी गतिविधि सामान्य अवस्थामा रहेकाले मौसम केही समय खुलेको जस्तो भए पनि फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । खासगरी पश्चिमतिर साँझमा भारी वर्षा हुने उनले बताइन् । काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि बदली तथा केही समय मौसम खुल्ने क्रम चल्ने र पानी पर्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय ०९:३० बजे