गृहपृष्ठ झुम्का कारागारमा एक कैदीको रहस्यमय मृत्यु !
झुम्का कारागारमा एक कैदीको रहस्यमय मृत्यु !

सुनसरीमा रहेको क्षेत्रीय कारागार झुम्कामा एक कैदीको मृत्युलाई ‘शंकास्पद’ भन्दै मृतकका आफन्तले छानबिनको माग गरेका छन् । इटहरी १७ स्थित पकलीका ३१ बर्षिय पेम्बा शेर्पा शुक्रबार राति कारागारभित्र गम्भीर घाइते भएको अवस्थामा अवस्थामा भेटिएका थिए ।
लगत्तै उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । तर, अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको थियो । शेर्पाको शरिर भर निलडाम भेटिएपछि आफन्तले मृत्यु नभएर हत्याको आशंकामा छानबिन गर्न माग गरेका हुन ।
मृतकको घाँटी, काखी, हात र टाँउकोमा निलडाम देखिन्छ । मृत्यु शंकास्पद देखिएपछि आफन्तहरुले पोष्टमार्टम नगरी शव घर लगेका थिए । आफन्तजनले शेर्पाको कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन् । घाँटी दबाइएको र काखी मुनी ३–४ ठाँउमा डाम रहेकाले कारागार भित्र कुटपिट भएको उनीहरुको आशंका छ ।
आफन्तजनले शवको पुनः पोष्टमार्टम गर्ने बताएका छन् । घटनालाई कारागार व्यवस्थापन बिभागले ढाँकछोप गर्न खोजेको उनीहरुले आरोप लगाएकाछन् । घटनाको बिषयमा झुम्का कारागारका निमित्त जेलर राजेन्द्र कार्कीले शेर्पा लागुऔषध र रक्सीको अत्याधिक सेवन गर्ने भएकाले लडेर मृत्यु भएको बताए । कारागार ल्याएपछि शेर्पा बेहोस हुने र जथाभाबी टाँउको ठोकाउने गर्ने गरेको उनको भनाइ छ । लागूऔषधसम्बन्धी मुद्दामा शेर्पा जेल परेका थिए ।
प्रकाशित समय ०९:४५ बजे