गृहपृष्ठ भारतसँगको सम्बन्ध अब उपलब्धिमुलक ढंगले अघि बढ्छ : प्रधानमन्त्री ओली

भारतसँगको सम्बन्ध अब उपलब्धिमुलक ढंगले अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले छिमेकी राष्ट्र भारतसँगको रेल्वे, जलमार्ग र कृषिको आधुनिकीकरणसम्बन्धी सम्झौताले भारत भ्रमण यथार्थमै उपलब्धिमूलक भएको बताएका छन् ।

तीनदिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतले निर्वाचनमार्फत प्राप्त जनअभिमतलाई स्विकार्दै तीन महत्वपूर्ण सम्झौतामार्फत भारतले नेपालसँगको सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाउन चाहेको स्पष्ट पारे ।

भारत जानुअघि संसद् र सार्वजनिक रूपमा भनेको थिएँ– हाम्रो वैदेशिक मामिला मित्रताबाट प्रस्थान हुन्छ । त्यो मित्रता खुलस्त, पारस्परिक सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, जायज हित र स्वाभिमानको सम्मान, अहस्तक्षेप पारस्परिक लाभका आधारमा हुन्छ । यसलाई बेठीक ढंगले सञ्चालन गर्न खोज्दा वास्तविक मित्रता हुँदैन ।

हामीले त्यहाँ (भारत)मा पनि त्यसैगरी कुरा ग-र्यौँ । सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका नेतालगायत त्यहाँ स्थित कूटनीतिक क्षेत्रसँगको भेटघाटमा २१औँ शताब्दीमा भारतलगायत अन्य मुलुकसँग कसरी सम्बन्ध स्थापित गर्न चाहन्छौँ भन्ने बतायौँ । उहाँहरूले नेतृत्व तहबाटै सकारात्मक रूपमा लिएर स्वागत गर्नुभो ।

प्रधानमन्त्री ओलीले मोदीलाई पटक–पटक सानासाना कुराले विश्वासको वातावरण बिगारेको भन्दै अब विश्वासको आधार बनाउँनु पर्ने बताए । ओलीले नेपालको जुट र अदूवा निकासीमा भारतको अवरोधदेखि डुबानसम्मका समस्यामा भारतको कर्मचारीतन्त्रले आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री तहमै असन्तुष्टि समेत जनाएका थिए ।
उनले भने, ‘भारतसँगको नेपालको ब्यापार घाटा ‘अलार्मिङ प्वाइन्ट’ मा पुगिसक्यो । यसमा अब पनि हामी गम्भिर भएनौं भने नेपालले त धान्न सक्दैन । यस्तो विषयमा भारतले विश्वासको आधार बनाउनुपर्ने हो । हामी तपाईहरुको व्यापारिक प्रतिस्पर्धी होइनौं । त्यसैले ब्यापार घाटा कम गर्ने सन्दर्भमा भारत लचिलो भइदिनुपर्यो । उदाहरणका लागि जुटकै कुरा गरौं । ‘ ‘यो कुराले म सिरियस भएँ’ भन्दै तत्कालै वाणिज्य सचिवस्तरीय बैठक राखेर काम गरिहालौं , भारतिय प्रधानमन्त्री मोदीले भन्नुभएको थियो । विश्वासको आधार कमजोर भएको भन्दै ओलीले मोदीलाई यसरी सम्झाउनुभयो , ‘एकीकृत महाकाली सन्धी भएको २० वर्ष पुगिसक्यो । त्यो सन्धी गर्दा भारतले टनकपुर लिंकरोड बनाउने प्रतिबद्धता जनाएको थियो । जम्मा डेढ किलोमिटर सडक २० वर्षसम्म नबनाउँदा बाहिर कस्तो सन्देश जान्छ, हामीले विश्वासको आधार कसरी बनाउने, भारतले प्रतिदिन २६ किलोमिटर नयाँ सडक बनाइरहेको भन्ने मैले सुनेको छु । तर डेढ किलोमिटर सडक बनाउने प्रतिबद्धता अहिलेसम्म पूरा नहुनु लाजमर्दो भयो । यस्ता साना साना कुरा हुन्, जसले आपसी विश्वासको आधार तय गर्छन् ।’

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु