गृहपृष्ठ फलो अप पाँच : राज ब्रुअरीसामु नियामक नै निरीह
फलो अप पाँच : राज ब्रुअरीसामु नियामक नै निरीह
सिडिओले बल्ल थाहा पाए
जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रा.लि.ले नेपालको राष्ट्रिय झण्डाको अपमान गरे पनि नियामक निकाय मौन बसेको छ । नमस्ते ब्राण्डमा बियर उत्पादन थालेको राज ब्रुअरी प्रा.लि.ले राष्ट्रिय झण्डाको दुरुपयोग गरेको हो ।
करिब महिनादिन अघिदेखि बजारमा आएको नमस्ते ब्राण्डको बियरको बोतलमा नेपालको राष्ट्रिय झण्डा ट्रेडमार्क लोगो राखिएको छ । जर्मन बियर वास्र्टटाइनर नेपालमा ल्याए पनि बजार बिस्तार गर्न नसकेपछि उसले राष्ट्रिय झण्डा राखेर बजार प्रवद्र्धन गर्न खाजेको छ । राज ब्रुअरीले नेपालको झण्डामा सामान्य ट्वीस्ट गरी दुरुस्तै देखिने डिजाइनसहित बियरमा प्रयोग गरे पनि नियमन निकाय मौन बसेको छ ।
यस विषयमा दुई साताअघि देखि न्युज कारोबारले पटक पटक समाचार लेख्दै नियामक निकायको ध्यानाकर्षण गराउदै आएको छ ।
नेपालको संविधान तथा राष्ट्रिय झण्डा संरक्षणको विषयमा बनेको कानुनले राष्ट्रिय झण्डाको कुनै पनि प्रकारले दुरुपयोग गर्न नपाइने व्यवस्था गरेको छ । तर, राज ब्रुअरीले खुलेआम बजारमा नमस्ते ब्राण्डको आफ्नो उत्पादन बेचिरहेको छ ।
सिडिओ भन्छन्, ‘कारबाही गर्छाैं ’
राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ मा राष्ट्रिय झण्डा दुरुपयोग गरेको पाइए कारबाहीको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । कुनै व्यापारिक प्रयोजनका लागि राष्ट्रिय झण्डाको प्रयोग गर्नु अपराध हुने उल्लेख गर्दै कार्यविधिमा समबन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीमार्फत कारबाही हुने भनिएको छ ।
यस विषयमा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने राज ब्रुअरीलाई कारवाही गर्ने बताए । सो कम्पनीले राष्ट्रिय झण्डाको दुरुपयोग गरेकोबारे सञ्चारमाध्यमबाट जानकारी पाएको उनले बताए । प्रमुख जिल्ला अधिकारी जोशीले न्यूज कारोबारसँग भने, ‘हामीले यस विषयमा जानकारी पायांै, छलफलको लागि बोलाउछौं र अनुमति दिने र कानुनविपरितको चिन्ह प्रस्ताव गरि स्विकृत लिने कम्पनीलाई कारवाही गर्छौं ।’
भदौ १ देखि लागु भएको मुलुकी अपराध संहितालेसमेत राष्ट्रिय झण्डाको अपमान हुने गरी हुने प्रयोगलाई बर्जित गरिएको छ । मुलुकी अपराध संहिताले राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ वर्षसम्म कैद सजाय तोकेको छ । राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने कार्यलाई अपराध संहिताले समेत ‘गैरकानुनी’ भनेको छ । जहाँ यस्तो काम गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । गृह मन्त्रालयका अधिकारीले भने कसैले लिखित रुपमा उजुरी दिएमा मात्र कारवाही प्रक्रिया अघि बढाईने बताएका छन् ।
उद्योग विभाग नै ढाकाछोपमा
राष्ट्रिय झण्डा लेभल ट्रेडमार्क राख्ने स्वीकृति दिने उद्योग विभागका कर्मचारीदेखि उद्योगीलाई समेत कारबाहीको माग उठेको छ । कसको आडमा र कसरी राष्ट्रिय झण्डाको दुरुपयोग गरिरहेको ? भन्ने प्रश्न उद्योग मन्त्रालयमा सोधिएपछि उसले आफ्नो गल्ति ढाकछोप गरेको छ ।
उद्योग विभागसँग अनुमति लिएपछि मात्र ट्रेडमार्क लोगो राख्नुपर्ने हुन्छ । तर, उद्योग विभागका केही अधिकारीहरुले भने आफूहरुले स्वीकृत गरे भन्दा फरक रंग प्रयोग गरेर राज ब्रुअरीले बदमासी गरेको बताए । यस विषयमा उद्योग विभागसँग लिखित सूचना माग्दा पर्याप्त सूचना दिन आनाकानी भइरहेको छ ।
दुई साताअघि नै राष्ट्रिय झण्डाको दुरुपयोगबारे बुझ्ने र गलत गरेको भए कारबाही प्रक्रिया अघि बढाउने बताएको विभागले यतिखेर सूचना दिनसमेत आनाकानी गरिरहेको छ । तर, राज ब्रुअरीले भने राष्ट्रिय झण्डाको अपमान भएको विषयमा भने केही बोलेको छैन ।
याे पनि पढ्नुस् :
पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा
फलो अप : राष्ट्रिय झण्डा दुरुपयोगमा उद्योग विभागकै संलग्नता, रक्सीको ब्रान्डिङमा राष्ट्रिय झण्डा
सम्पादकीय : राष्ट्रिय झण्डाको दुरुपयोग रोक
प्रकाशित समय २०:०६ बजे

















