गृहपृष्ठ देशभर साढे ३२ लाख करदाता, चार महिनामै थपिए ८ लाख

देशभर साढे ३२ लाख करदाता, चार महिनामै थपिए ८ लाख

राजस्व घटेपछि अर्थ मन्त्रालय चिन्तित

finance_ministry_newskarobar

देशभर करदाताको संख्या ३२ लाख ५७ हजार ३५७ पुगेको छ । साउनदेखि कात्तिकसम्ममै ७ लाख ९३ हजार ९७३ करदाता थपिएका छन् ।

सरकारले बैंक खाताबाट तलब दिनुपर्ने र एक हजार रुपैयाँभन्दा बढीको भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने व्यवस्था लागू गरेपछि चालू आर्थिक वर्षको चार महिनामा ७ लाख ५५ हजारले नयाँ प्यान लिएका छन् । यससँगै स्थायी लेखा नम्बर लिने करदाताको संख्या २९ लाख २७ हजार ८२६ पुगेको छ । २०७६ असार मसान्तसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ७२ हजार २०० थियो ।

अर्थ मन्त्रालयका अनुसार साउनदेखि कात्तिकसम्ममा ७ लाख ५५ हजार ६२६ जनाले नयाँ प्यान लिएका छन् । व्यावसायिक स्थायी लेखा नम्बर १ लाख ५ हजार ६३४, व्यक्तिगत स्थायी लेखा नम्बर ६ लाख ४८ हजार ५६४ र करकट्टी गर्न निकायले लिएको स्थायी लेखा नम्बर संख्या १ हजार ४२८ छ ।

चार महिनामा २३ हजार ९१५ उद्योग व्यवसाय मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका भएका छन् भने थप १४ हजार ४३२ उद्योग व्यवसाय अन्तःशुल्कमा दर्ता भएका छन् । यससँगै भ्याटमा दर्ता हुने करदाताको संख्या २ लाख ३७ हजार ६८५ पुगेको छ भने अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ९१ हजार ४४६ पुगेको छ ।

 

राजस्व घटेपछि अर्थ मन्त्रालय चिन्तित

यसैबीच, भन्सार विन्दुमा संकलन हुने राजस्व घटेपछि अर्थ मन्त्रालय चिन्तित देखिएको छ । भन्सार राजस्व कम संकलन भएपछि मंसिर १८ गते राजस्व चुहावटसम्बन्धी उच्चस्तरीय समितिको बैठक बसी भन्सार नाकाहरूमा अनुगमन बढाउने निर्णय गरेको छ ।

बैठकले भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, सुरक्षा निकायलगायत राजस्व चुहावट नियन्त्रणमा संलग्न केन्द्रीय स्तरका निकायहरूबाट संवेदनशील भन्सार नाकाहरूमा संयुक्त अनुगमन गर्ने र भन्सार नाकाबाट अस्थायी रूपमा प्रवेश गर्ने यात्रुवाहक सवारीसाधन र अन्य सवारी साधनको भन्सार विभागले कडाइका साथ चेक गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, संवेदनशील भन्सार नाकाहरूमा यथाशीघ्र भन्सार र राजस्व प्रहरीबीच समन्वय गरी गस्ती परिचालन गर्ने तथा सुरक्षा निकाय र राजस्व प्रशासनबीच सूचना आदानप्रदान गरी राजस्व चुहावट नियन्त्रणमा थप समन्वयात्मक ढंगल काम गर्ने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव उत्तरकुमार खत्रीले जानकारी दिए ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडासहित अर्थसचिव, राजस्व सचिव, गृह सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु