गृहपृष्ठ विमानस्थल भन्सारलाई घाँडो भयो जफत गरेका रक्सी
विमानस्थल भन्सारलाई घाँडो भयो जफत गरेका रक्सी
केही महिनाअघि भन्सार विभागको निर्णयअनुसार विदेशबाट फर्किने यात्रुले एक लिटरभन्दा बढी रक्सी ल्याउँदा त्यसलाई जफत गर्न थालेपछि भन्सार अधिकारीहरू दंग परेका थिए । त्यही रक्सी अहिले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका लागि घाँडो बनेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्किने यात्रुबाट जफत गरेको ५ हजार ८७७ बोतल रक्सी बेच्न सकेको छैन । भन्सार कार्यालय गौचरले कात्तिक १८ गते पहिलो पटक सूचना निकालेर लिलाम गर्न खोजे पनि बिक्री नभएपछि मंसिर २५ गते पुनः अर्को १५ दिनको म्यादसहित अर्को सूचना निकालेको छ ।
भन्सार कार्यालयले विभिन्न १३ लट नम्बर दिएर निकालेको सूचनामा ५ हजार ८७७ बोतल रक्सीको न्यूनतम मूल्य १ करोड १२ लाख ६९ हजार ३९० रुपैयाँ तोकेको छ । कार्यालयले एयर यात्रु जाँचपास तथा सहजीकरणका क्रममा जफत भएका मदिरा बेच्न पटक–पटक सूचना जारी गरिरहेको छ ।
विदेशबाट फर्कने नेपालीले आफैंले उपभोगका लागि वा साथीभाइका लागि उपहार भनेर विदेशका भन्सारमुक्त पसल (ड्युटी फ्री सप)बाट ल्याउने गरेका रक्सीमाथि सरकारले यहाँका ठूला रक्सी व्यापारीको आग्रहमा हस्तक्षेप गर्न थालेको हो ।
सरकारले झिटीगुन्टा भारी आदेशअनुसार एक लिटरभन्दा बढी रक्सी ल्याउन नपाउने भन्दै गत वर्ष यही समयदेखि विदेशबाट यात्रुले ल्याउने रक्सी जफत गर्न थालेको छ ।
सरकारको यो व्यवस्थाबारे थाह नपाएका यात्रुले आफूले भन्सार तिरेरै थप परिणामको मदिरा छुटाउन पाउनुपर्ने तर्क गर्ने गरे पनि भन्सार अधिकारीहरूले खोस्ने गरेका छन् ।
त्यसरी १ देखि १३ लटसम्म खोसिएका झन्डै ६ हजार बोतल रक्सी भन्सारका लागि घाँडो भएको हो । लामो अवधिसम्म ड्युटी फ्रिका रक्सी नबिकेपछि केही समयअघि तत्कालीन नेसनल ट्रेडिङले आयात गरेका रक्सीसमेत उपभोग अवधि सकिएको भन्दै नष्ट गरिएको थियो ।
प्रकाशित समय १७:१४ बजे

















