गृहपृष्ठ सेयर बजार : यी हुन् साताभरका पाँच ‘लिडर’ कम्पनी
सेयर बजार : यी हुन् साताभरका पाँच ‘लिडर’ कम्पनी
साताभरमा सेयर बजार परिसूचक (नेप्से) २३ अंकले घट्दा सेयर बजारमा केही कम्पनीले एकछत्र गरेका छन् । आइतबार ११७२.६४ अंकबाट कारोबार सुरु भएको बजार साताको अन्तिम दिन बिहीबार ११४९.६४ अंकमा झरेको हो । साताभरमा २ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । यो रकम गत साताको तुलनामा १८.६६ प्रतिशत कम हो । गत साता २ अर्ब ५६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । साताभरमा कुन कुन कम्पनीको वर्चस्व रह्यो त !
एनएमबी बैंक
कारोबार रकमका आधारमा यो साताभर एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । ओम बैंकसँगको मर्जर सकेर दोस्रो बजारमा लामो समयपछि कारोबार खुलेको एनएमबी बैंकको कारोबार त्यसयता नै उच्च छ । गत आर्थिक वर्षको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको एनएमबीले शुक्रबारका लागि बुक क्लोज मिति तोकेपछि बिहीबारमात्रै १२ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । साताभरमा एनएमबी बैंकको ३१ करोड ६२ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो ।
कारोबार भएका पाँच दिनमा एनएमबी बैंकको सर्वाधिक ७ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ भने २ हजार ९४८ वटा कारोबार भयो । एनएमबी बैंकको कुल बजार पुँजीकरण ४६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी छ । पुँजीकरणका हिसाबले यो पाँचौं कम्पनी हो ।
नेपाल बैंक
साताभरमा नेपाल बैंकको १० करोड ६८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नेपाल बैंकले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल बैंकले पुस १३ गते बुक क्लोज गर्दै छ । अर्थात् १० गतेसम्म सेयर किन्नेले लाभांश पाउनेछन् । साताभरमा ७३१ पटक कारोबार हुँदा नेपाल बैंकको ३ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । नेपाल बैंकको कुल बजार पुँजीकरण ३० अर्ब ८० करोड छ । कुल पुँजीकरणका हिसाबले यो कम्पनी ‘टप टेन’भित्र पर्दैन ।
नेपाल लाइफ इन्स्योरेन्स
कारोबार रकमका हिसाबले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी यो साता तेस्रो स्थानमा रह्यो । साताभरमा नेपाल लाइफको ७ करोड ६८ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । यो कम्पनीको कुल बजार पुँजीकरण ४८ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुनै लाभांश घोषणा गरेको छैन । अघिल्लो आवमा भने नेपाल लाइफले २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद गरी ४८.५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
एनआईसी एसिया बैंक
साताभरमा एनआईसी एसिया बैंक कारोबार रकमका हिसाबले चौथो स्थानमा रहेको छ । यो साता ५७७ पटकको कारोबारमा एनआईसी एसिया बैंकको ७ करोड २५ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । साताभरमा यो कम्पनीको १ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरणका हिसाबले एनआईसी एसिया ४० अर्ब १३ करोड रुपैयाँसहित नवौं नम्बरमा छ । गत वर्षको नाफाबाट यो कम्पनीले लगानीकर्तालाई २१.०५ प्रतिशत लाभांश बाँडिसकेको छ ।
शिवम् सिमेन्ट
कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट यो साता पाँचौं नम्बरमा रह्यो । साताभरमा पाँच करोड १४ लाख रुपैयाँको कारोबार हुँदा यो कम्पनीका एक लाख ४१ हजार कित्ता किनबेच भएको छ । यो कम्पनीको कुल बजार पुँजीकरण १६ अर्ब ६७ करोड छ ।
कारोबार रकमका हिसाबले यो साता ५ करोड १४ लाखसहित नबिल बैंक छैटौं स्थानमा रह्यो । त्यस्तै, प्राइम कमर्सियल बैंकको ५ करोड ७ लाख, डिप्रोस लघुवित्तको ५ करोड ४ लाख, स्वावलम्बन लघुवित्तको ४ करोड ८६ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो ।
बजारमा छैन रौनक
तीन वर्षदेखि लगातार ओरालो लागेको सेयर बजारमा अझै रौनक आउन सकेको छैन । यसै पनि मंसिर, पुस सेयर बजारका लागि अफ सिजन भएकाले सुस्त नै हुन्छ । लामो समय प्यानिक भएको बजार माथि चढ्नका लागि सिजन कुर्नुपर्दैन । विगतका धेरै तथ्यहरुले यसलाई पुष्टि गर्छन् । २०७२ सालमा मार्केट डेप्थको व्यवस्थासँगै सेयर बजार पुसदेखि नै उकालो लाग्न थालेको थियो । अहिले भने त्यस्तो अवस्था छैन । र, यसको मुख्य कारण ब्याजदर हो ।
ब्याजदरको प्रभाव
ब्याजदर नघटेसम्म बजार लयमा नफर्किने सेयर विश्लेषकहरु बताउँछन् । सेयर बजार र ब्याजदरबीच विपरीत सम्बन्ध हुने भएकाले ब्याजदर उच्च हुँदा सेयर बजार सधैं ओरालो लाग्छ । कारण, बैंकमा पैसा राखेर सजिलै उच्च ब्याज आर्जन हुने भएपछि दोस्रो बजारमा जोखिम मोल्न कोही चाहँदैन । अर्को कुरा, ११-१२ प्रतिशत ब्याज खान छाडेर वार्षिक १४-१५ प्रतिशतमा ऋण लिएर सेयर किन्न मुर्खतासिवाह केही हुन सक्दैन । सुस्त भएका बेला १४-१५ प्रतिशतको रिटर्न यसै पनि सेयर मार्केटले दिन सक्दैन ।
सरकारले पुँजीगत बजेट खर्च गर्न नसकेसम्म तरलताको समस्या समाधान हुँदैन । अहिले तीनवटै तहका सरकारले बजेट खर्च गर्न नसकेका कारण तरलता समस्या काबुबाहिर गएको छ । तीनवटै तहका सरकारको कोषमा सञ्चित भएको पैसा जबसम्म बजारमा प्रवाह हुन सक्दैन, तबसम्म बजारमा रौनकता नआउने निश्चित प्रायः छ ।
प्रकाशित समय १७:०० बजे

















