गृहपृष्ठ सुर्खेतमा एक वर्षमा १११ मानव अधिकार उल्लंघनका घटना
सुर्खेतमा एक वर्षमा १११ मानव अधिकार उल्लंघनका घटना
सुर्खेतमा एक वर्षमा १११ मानव अधिकार उल्लंघनका घटना भएका छन् । राज्य तथा गैरराज्यका तर्फबाट उक्त घटना भएका हुन् ।
शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुर्खेतले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रमको आयोजना गरी उक्त तथ्यांक सार्वजनिक गरेको हो । २०७५ मंसिरदेखि हालसम्म १११ मानव अधिकार उल्लंघनका घटना भएको र ती घटनाबाट ११७ जना पीडित भएको इन्सेक सुर्खेतका प्रतिनिधि दुर्गा थापाले जानकारी दिए । उनका अनुसार यो अवधिमा राज्यपक्षबाट ९ र गैरराज्यका तर्फबाट भने १०२ घटना भएका छन् । राज्यपक्षबाट भएका मानव अधिकार उल्लंघनका घटनामा ७ जना गिरफ्तार र २ जना कुटपिटमा परेको थापाले बताए ।
त्यस्तै गैरराज्यका तर्फबाट अपहरण १, कुटपिटमा ४, बालअधिकार हनन ८, भौतिक संरचना क्षति ३, अमानवीय व्यवहार २, हत्या ६, महिला अधिकार ७८ गरी १०२ वटा घटना भएको उनले बताए । सबैभन्दा बढी महिला अधिकार हननका घटना भएको छ ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले घटनाको अभिलेखीकरणमा इन्सेकले गरेको काम सराहनीय भएको बताइन् । ‘घटनाको अभिलेखीकरण हुनु रक्तसञ्चार हुनुजस्तै हो,’ उनले भनिन्, ‘यसले पीडितलाई थप प्रमाणको काम गर्छ ।’
पीडितका पक्षमा राज्यपक्ष गम्ीभर भएर लाग्नुपर्ने उनको भनाइ छ । ‘घटना भएको जानकारी पीडितले राज्यपक्षलाई गराए पुग्छ,’ उनले थपिन्, ‘घटनाको छानबिन गर्ने, प्रमाण जुटाउने, दोषी र निर्दोष ठहर गर्ने काम राज्यको हो ।’ कानुनको कार्यान्वयन जबसम्म पूर्णरुपमा हुन सक्दैन, तबसम्म मानव अधिकार उल्लंघनका घटना दोहोरिरहने उनले बताइन् ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार वर्ष पुस्तकले पीडितलाई थप प्रमाणको काम गर्ने बताए । उनले धेरै वर्षअगाडि भएका घटनासमेत मानव अधिकार वर्ष पुस्तकमा उल्लेख भएको भन्दै यसले न्यायिक निकायलाई सघाउ पुगेको जानकारी गराए ।
प्रकाशित समय १८:१० बजे

















