गृहपृष्ठ दसैं आयो, जोगबनी गुल्जार ! विराटनगर सुनसान
दसैं आयो, जोगबनी गुल्जार ! विराटनगर सुनसान
विराटनगरबाट भारतको जोगवनी ७ किलोमिटर मात्र छ । जोगवनी बजार नजिक भएका कारण विराटनगर र आसपासका क्षेत्रका मानिस खाद्यान्न, लत्ताकपडा लगायतका घरायसी सामग्री किन्न दैनिक त्याहाँ पुग्ने गरेका छन् । दसैं नजिकिएसँगै यतिबेला सिमापारीको बजार जोगबनी किनमेलका लागि पुग्ने नेपाली उपभोक्ताका कारण भिडभाड भएको छ ।
अन्य समयमा पनि निकै चहल पहल हुने जोगबनी बजारका मुख्य ग्राहक भने नेपाली उपभोक्ता हुने गरेका छन् ।जोगबनी बजार नेपाली उपभोक्ताले भरिएपनि सिमावर्ती बजार विराटनगर लगायतका पूर्वका ठूला शहरका बजारमा भने अहिलेसम्म दसैंको लागि किनमेलको रौनकता देखिदैँन । ७ किलोमिटिर दक्षिणको सिमापारीको बजार जोगबनी नेपाली उपभोक्ताको कारण भिडभाड हुदा विराटनगर बजार भने सुनसान देखिन्छ ।
नेपाली बजार भन्दा सस्तो
नेपाली बजारको तुलनामा भारतीय सिमावर्ती बजार जोगबनीमा किनमेल गर्ने बस्तुहरु निकै सस्तो पाइन्छ । सस्तो मूल्यमा सामान पाइने भएकाले नेपाली उपभोक्ता निकै टाढाटाढाबाट समेत किनमेलमा लागि जोगबनी पुग्ने गरेका छन् ।सुनसरीको तरहराबाट समान खरिदका लागि जोगवनी बजार आएकी सरिता घतानीले नेपाली बजारको तुलनामा निकै सस्तो मुल्यमा खाद्यान्न, लत्ताकपडा र धरायसी सामानहरु पाइने भएकाले जोगवनी बजारमा आएको बताइन् ।
घतानीले भने जस्तो नेपाली उपभोक्ता भारतीय जोगबनी बजारमा किनमेलका लागि पुग्ने क्रमसँगै विराटगरका कुनै पनि पसल राम्रोसँग चल्न सकेका छैनन् ।जसका कारण नेपाली व्यापारीहरु लामो समयदेखि मारमा पदै आएका छन् ।
किन जान्छन, सिमापारीको बजार नेपाली उपभोक्ता ?
सिमावर्ती नेपाली बजार विराटनगर र सिमापारीको बजार जोगबनीमा उपभोग्य सामाग्री प्रतिकेजी १० रुपैयाँदेखि १ सय रुपैयाँसम्मको मूल्य फरक हुने गरेको पाइन्छ । सिमापारीको जोगबनी बजारमा मनसुली चामल प्रति बोरा (२५) केजीको १ हजार २ सय ५० रहेको छ भने विराटनगरमा सोही चामलको मुख्य १ हजार चार सय रुपैयाँ रहेको छ । यसैगरी अन्य उपभोग्य बस्तुमा पनि जोगवनी र विराटनगरमा निकै मूल्य अन्तर रहेको छ ।
ठूलो डिपार्टमेन्ट स्टोरमा उपभोक्ताको आकर्षण बढ्दै
पछिल्ला समय पुर्वी नेपालका ठुला शहर विराटनगर, धरान, इटहरी, दमक, विर्तामोड लगायतका शहरमा खुलेका ठुला डिपार्टमेन्ट स्टोरमा नेपाली ग्राहकको मोह बढेको छ । ठूला डिपार्टमेन्ट स्टोरले नेपाली उपभोक्तालाई सिमापारीको बजार जोगबनी र पानीटयांकी जानलाई केही हदसम्म भएपनि रोकेको छ । डिपार्टमेन्टमा बिहानदेखि साँझसम्म ग्राहकको भिडले भरिन्छ ।
तर, विराटनगरका उपभोक्ताको जोगबनी मोह भने हटेको छैन । झोलामा सामान ल्याउन भन्सार नियम खुकुलो भएपछि जोगबनी ’प्यार’ अझैसम्म कायम छ । भन्सार शुल्क धेरै भएका केही आइटममा जोगबनीको भन्दा कम मूल्यमा दिन नसकिने भएकोले केही उपभोक्ताहरुको भिड उतै केन्द्रित भएको विराटनगरका व्यापारी बताउँछन् ।
ठगिदै नेपाली उपभोक्ता
सिमापारीको बजार भनेर चिनिने जोगबनी र पानीटयांकीमा नेपाली उपभोक्ता सस्तोको नाममा ठगिने गरेका छन् । किनमेलका लागि जोगबनी र पानीट्यांकी बजार पुग्ने नेपाली उपभोक्ता कम गुणस्तरका सामाग्री खरिददेखि कम तौल, मिसावट खाद्यय सामाग्री र प्लोस गरिएका खाद्यय सामाग्री खरिद गरी ठगिने गरेका छन् । उनीहरुलाई कतिपय व्यपारीले कपडाको नापमा समेत ठग्ने गरेको छन् ।
विराटनगरका उपभोक्ता युवराज शाहले जोगबनी किनमेलका लागि जाने नेपाली उपभोक्ता प्याकेट गरिएका सामानदेखि खुल्ला बिक्रीका सामानमा समेत ठगिने गरेको बताए । नेपाली उपभोक्ताले जोगबनी र पानीटयांकी बजारबाट ल्याएको खाद्य सामाग्री कम गुणस्तरीय भएपनि त्यसबारेमा अनुसन्धान गर्ने र उजुरी गर्ने ठाँउ समेत नहुँदा नेपाली उपभोक्ता थप मारमा पर्ने गरेको शाहको भनाई छ ।
विराट व्यपार संघका अध्यक्ष शिव रिजालले जोगबनी बजारमा प्राय कमशल खाद्य सामाग्री बिक्रीका लागि राखिने गरेको बताए । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी शुशिल थापाका अनुसार पहिलेको तुलनामा नेपाली उपभोक्ता किनमेलका लागि जोगबनी बजार पुग्ने क्रम अहिले कम भएको छ । नेपाली उपभोक्ता किनमेलका लागि जोगवनी जाने क्रममा उनीहरुले खरिद गर्ने सामाग्री ठूलो मात्रमा दैनिक भित्रिने गरेको छ । त्यसको लेखाजोखा भने भन्सार कार्यालयमा रहने गरेको छैन ।
भन्सार कार्यालयले न्यून बिल बिजकिकरण १ हजारसम्मको छुट दिएको छ । तर नेपाली उपभोक्ता जोगबनी बजार किनमेल गरी फर्कदा ५ हजारसम्मको सामान खरिद गर्न भन्सार कार्यालयले छुट दिएको छ । ठूलो संख्यामा नेपाली उपभोक्ता दैनिक सिमापारीको बजार जोगबनी किनमेलका लागि जादा ठूलो मात्रामा नेपाली पैसा समेत विदेशिने गरेको छ ।
प्रकाशित समय १४:१८ बजे

















