गृहपृष्ठ सवारी साधनको कुम्भमेला नाडा अटो सो सुरु
सवारी साधनको कुम्भमेला नाडा अटो सो सुरु
अर्थमन्त्री भन्छन्- सकारात्मक सोचाैं
सवारी साधनको कुम्भमेला नाडा अटो सो मंगलबार सुरु भएको छ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल र गोल्बल एक्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा सुरू भएको नाडा अटो सोको भव्य कार्यक्रमबीच अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन् ।
डा. खतिवडाले नेपाली तथा नेपालका सबै उद्योगी व्यापारीले व्यापार घाटाको चिन्ता गर्ने, रोजगारी सिर्जनाको चिन्ता गर्ने, विकासको चिन्ता गर्ने तर सरकारले ल्याएको विकास र समृद्धिमा सहयोग नगर्ने परिपाटीको कारण समस्या भएको बताए । सरकारले अहिले भन्सारमा आधारित राजस्व प्रणाली अपनाएका गर्दा ‘पर्ख र हेर’को अवस्थामा रहन अर्थमन्त्रीले व्यवसायीलार्इ आग्रह गरे । ‘सरकारको ६ महिनाको कामलाई हेरेर विरोध या समर्थन गर्नुको अर्थ छैन, केही वर्ष हेर्नुस्,’ उनले भने, ‘सरकारले अटो मोबाइल्स क्षेत्रलार्इ प्राथमिकता राखेको छ ।’ अटो मोबाइल्सबाट १५ प्रतिशत राजस्व उठ्ने अर्थमन्त्रीले जानकारी गराए ।
सरकार अहिले बैंकिङ क्षेत्रमा भएको तरलता समस्या समाधान गर्न लागिपरेको मन्त्री खतिवडाले बताए । ‘चोरीपैठारीको कुरा प्रशासनले रोक्छ, सरकार तपार्इंहरूसँग सहकार्य गरेर अघि बढ्न तयार छ, सुझाव सल्लाह दिनुहोला,’ उनले भने ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले इतिहासकै बलियो र दिगो सरकारले व्यवसायीलार्इ आर्थिक विकासमा सहभागी गराउँदै मजबुत अर्थतन्त्र निर्माणमा अघि बढ्ने विश्वास व्यक्त गरिन् । प्रत्येक वर्ष २०-३० प्रतिशतका दरले नाडाको आर्थिक वृद्धि भएकाले सरकारले अटो मोबाइल क्षेत्रलार्इ प्राथमिकतासाथ प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रलार्इ चलायमान गराउने क्षेत्र हो अटो मोबाइल,’ उनले भनिन्, ‘उद्योग वाणिज्य महासंघले अटो मोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सबै किसिमको सहयोग गर्छ ।’
७१ कम्पनीको सहभागिता रहेको नाडाको १३औं संस्करणको अटो सोमा एक सय ३४ वटा स्टलमा १९ वटा ब्रान्डका चार पाङ्ग्रे तथा २० ब्रान्डका दुर्इ पाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । नाडा अटो सो ३१ गतेसम्म चल्नेछ ।
प्रकाशित समय १४:०७ बजे