गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंक तीन महिनामै उक्लियो अर्बपति क्लबमा
राष्ट्रिय वाणिज्य बैंक तीन महिनामै उक्लियो अर्बपति क्लबमा
चालू आर्थिक बर्षको पहिलो तीन महिनामा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । यो अवधिमा बैंकले एक अर्ब ११ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । योसँगै वाणिज्य बैंक चालू वर्षको पहिलो दिन महिनामै अर्बपति क्लबमा उक्लिएको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा ५७.७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा यो बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
तीन महिनाको अवधिमा बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको वाणिज्य बैंकको चुक्ता पूँजी बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको जगेडा कोषमा र १२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । बैंकले एनआईडिसीलाई प्राप्ति गरेसँगै खराब कर्जाको अनुपात बढेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा कुल कर्जा प्रवाहको २ दशमलव ९२ प्रतिशत खराब कर्जा रहेको थियो भने अहिले सोही अवधिमा खराब कर्जा बढेर ३ दशमलव ८३ प्रतिशत पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा ३.८३ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १३.७५ प्रतिशत र प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७२ पैसा रहेको छ । बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ९९ प्रतिशतले बृद्धि भइ एक अर्ब ११ करोड २६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५६ दशलमव ६२ प्रतिशतले बढेर एक अर्ब ५८ करोड ५५ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंक हो ।
प्रकाशित समय १२:१६ बजे

















