गृहपृष्ठ हेटौंडामा मारिदै हजाराैं कुखुरा

हेटौंडामा मारिदै हजाराैं कुखुरा

बर्डफ्लु संक्रमित क्षेत्रमा ४१ हजार कुखुरा मारिने

हेटौंडाका कुखुरामा बर्डफ्लु देखिएपछि शनिबार दिनभरिमा १० हजार कुखुरा नष्ट गरिएको छ । हेटौंडा ७ नागस्वतिको बर्डफ्लु प्रभावित क्षेत्रमा रहेका कुखुरा बिहान ११ बजेदेखि नष्ट गर्न थालिएको हो । प्राविधिक टोलीले कुखुरा नष्ट गरेर सुरक्षित स्थानमा गाडिरहेको छ ।
भेटनरी अस्पताल हेटौंडा, कुखुरा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालसहित स्थानीय कुखुरा व्यवसायीहरुको सहभागितामा संक्रमित क्षेत्रका कुखुरा नष्ट पारिएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट खटिएको २१ जना प्राविधिक टोलीले तीन भागमा विभाजन गरेर त्यस क्षेत्रमा कुखरा नष्ट गरिरहेका छन् ।
बर्डफ्लु संक्रमित पाइएको नागस्वतीका कुलप्रसाद चौलागाईंले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्रका जिउँदा ४१ हजार ५ सय कुखुरा नष्ट गर्न थालेको हो। त्यसक्षेत्रका २८ वटा खोरका करीब ४१ हजार ५ सय कुखुरा नष्ट हुने अनुमान छ ।

बर्डफ्लु संक्रमण देखिएको चौलागाईंको फर्मका ६ हजार कुखुरा मरेका थिए।

प्रमुख जिल्ला अधिकारी आशमान तामाङको संयोजनमा शुक्रबार बसेको बैठकले स्थानीय किसानहरुसँग क्षतिपूर्ति निर्धारणको विषयमा सहमति जुटाएर कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार हेटौंडा ७ नागस्वतीको कमर्सियल लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर ६ र ७ को सिमाना, पश्चिममा वनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिभित्र रहेका करिब ४१ हजार कुखुरा नष्ट हुने छन् ।
नष्ट हुने कुखुरका क्षतिपूर्तिबापत अण्डा पार्न तयार भएको कुखुरालाई ९ सय, बेच्न तयार ब्रोइलरलाई ४ सय तथा तथा अण्डालाई प्रतिगोटा ११ रुपैँया दिनको लागि सिफारिस गर्ने सहमति भएको थियो ।

प्रकाशित समय १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु