गृहपृष्ठ सेजमा पूर्वाधार सुविधा भएमात्र उद्योग स्थापना गर्न सकिन्छ : उद्योगी

सेजमा पूर्वाधार सुविधा भएमात्र उद्योग स्थापना गर्न सकिन्छ : उद्योगी

sez-gpz-newskarobar

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालनको तयारीमा रहेको ‘गार्मेन्ट प्रोसेसिङ जोन (जीपीजेड)’मा थप पूर्वाधारको व्यवस्था भएमात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन् । अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकोले पूर्वाधार सुविधा बढाउनुपर्ने उनीहरुको माग छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन), इकोनोमिक पोलिसी इन्कुबेटर (इपीआई) र यूके एडले सोमबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको ‘एक्सिलेरेटिङ इन्डस्ट्रियलाइजेसन इन सिमरा जीपीजेड’ नामक अन्तक्र्रियाका सहभागीले प्रोसेसिङ जोनबाट लाभ लिन यसको संरचनात्मक, प्रशासनिक र पूर्वाधार सुधारमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं ईपीआइका टिम लिडर डा. शंकर शर्माले बंगलादेशको अनुभवबाट सिकेर तयारी पोसाकलाई नेपालको औद्योगीकरणको आधारको रुपमा उपयोग गर्न सकिने बताए । विदेशमा नेपाली तयारी पोसाकको आफ्नो छुट्टै पहिचान रहेकोले यसको बजार मूल्यलाई प्रतिस्पर्धी बनाई विगतमा जस्तै निर्यात बढाउन सकिने उनको भनाइ छ ।

गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष चन्डीप्रसाद अर्यालले सेजमा उद्योग स्थापनाका लागि कायम गरिएको प्रति वर्गफुट २० रुपैयाँबाट घटाएर ३ देखि ५ रुपैयाँ कायम गर्नुपर्ने बताए । अहिले सञ्चालनमा रहेका उद्योगले जस्तो किसिमको सुविधा पाइरहेको भन्दै उनले त्यस्तै सुविधा सेजमा पनि पाएमात्र उद्योग स्थानान्तरण गर्न सकिने स्पष्ट पारे ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले सिमरामा उद्योग स्थापना गर्दा दिने सुविधा मूल्यांकन गरेरमात्रै भैरहवा, काठमाडौं अथवा अन्य ठाउँका उद्योग त्यहाँ जान सक्ने बताए । त्यस्तै, उनले कोटा प्रणालीमा निर्भर रहेरभन्दा पनि नेपाली तयारी पोसाकलाई सधैं प्रतिस्पर्धी बनाउने गरी सरकारी सहयोग आवश्यक रहेको भनाइ राखे ।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले सेजको भाडादर ऐनमा उल्लेख नगरेर यसमा लचक हुनुपर्ने धारणा राखे । सेजमा उद्योग स्थापना गर्दा र बाहिर स्थापना गर्दा हुने लाभको मूल्यांकन गरेर सेजतर्फ आकर्षित गराउने रणनीति तयार गर्नुपर्ने उनको सुझाव छ ।

पूर्वसचिव विमल वाग्लेले सेजमा व्यवसायमैत्री वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । उद्योगलाई स्थानान्तरण गर्दा उद्योगीले थप फाइदा खोज्ने भएकाले सेजमा त्यस्तो सुविधा उपलब्ध गराउनुपर्ने उनको सुझाव छ । पस्मिाना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले सेजमा उद्योग स्थापना गर्दा बैंक ब्याजदर बढ्दैन भन्ने प्रत्याभूति आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले सेजमा पुराना उद्योग जान पाउने वा नपाउने विषयमा अहिले नै स्पष्टता आवश्यक रहेको बताए । उद्योग स्थापनाअघि नै सेजसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ । नेपाल उद्योग परिसंघका बैंकिङ समितिका सभापति अनलराज भट्टराईले सेजमा उद्योगीलाई सुविधा दिनैपर्नेमा जोड दिए । महिला उद्यमी महासंघ नेपालका द्वितीय उपाध्यक्ष निरु रायमाझी खत्रीले सेजमा स्थापना हुने उद्योगले स्थानीय स्तरमै उपलब्ध हुने कच्चा पदार्थको प्रयोगमा बढी जोड दिनुपर्ने बताइन् ।

कार्यक्रममा सेज प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले गार्मेन्ट प्रोसेसिङ जोनको संरचना निर्माणको अधिकतम काम पूरा भए पनि उद्योग सञ्चालनका लागि आवेदन प्राप्त नभएको बताए । विद्युत, ढल, पानी आपूर्ति, प्रशासनिक भवन निर्माणजस्ता काम अघि बढिरहे पनि उद्योगीले चासो नदेखाएको उनले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामचन्द्र ढकालले सेजमा उद्योग स्थापना गर्न उद्योगीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।

प्रकाशित समय ०७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु