गृहपृष्ठ माथिल्लो तामाकोसीको स्थगित साधारण सभा असार अन्तिममा

माथिल्लो तामाकोसीको स्थगित साधारण सभा असार अन्तिममा

tamakoshi-newskarobar

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको स्थगित ११औं साधारण सभा २० दिनपछि हुने भएको छ । गणपुरक संख्या नपुगेको भन्दै सुरु नभई स्थगित भएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले स्थगित साधारण सभा असार ३१ गते काठमाडौंमा गर्ने सञ्चालक समितिले निर्णय गरेको जानकारी दिए ।

साधारण सभाका लागि कम्पनीको निर्वाचन नियमाली अनुसार गणपुरक संख्या ६७ प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । संस्थागत लगानीकर्ता ५१ प्रतिशत र सर्वसाधारणको प्रोक्सि उपस्थितिका आधारमा ५ प्रतिशत गरी जम्मा ५६ प्रतिशतमात्र उपस्थिति देखिएकाले साधारण सभा नै स्थगित गर्नु परेको कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

स्थगित साधारण सभाको मिति अर्को तोकिए पनि उम्मेद्वार भने पुरानै हुने कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए । तर, उम्मेदवारहरुले असार २७ गते बिहानसम्म थप प्रोक्सी भने संकलन गर्न पाउनेछन् । यसअघि उम्मेदवारहरुले आफूले बुझाएको प्रोक्सी रद्द भएको लिस्ट नै सम्बन्धित उम्मेदवारलाई फिर्ता दिएका छन् ।

कम्पनीले देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेडमा सर्वसाधारणका तर्फबाट सञ्चालक बन्न १२ जना प्रतिस्पर्धामा छन् । चारजना सञ्चालकका लागि ३ महिला सहित १२ जनाको उम्मेदवारको रुपमा आवेदन दिएका छन् ।

सर्वसाधारण सेयरधनी समूह (ख) बाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको हो । कम्पनीमा ८ लाख १८ हजार सेयरधनी छन् । सेयरधनी सबैले सञ्चालक छनोट गर्न मतदान गर्न पाउनेछन् । साधारण सभाको नयाँ मितिको सूचना भने शुक्रबार प्रकाशित गर्ने तयारी छ ।

कम्पनीको सञ्चालक बन्नका लागि प्रकाश भुसाल, डा. प्रदिपकुमार मैनाली, अशोक बुढाथोकी, हरिप्रसाद भुर्तेल, गोसाइँ केसी, कल्याणी रिमाल, सिर्जना सुवेदी, प्रकाश तिवारी, विश्वनाथ शर्मा, लोकेन्द्रबहादुर साउद, सुशिल पोखरेल र रामहरि शर्मा रहेका छन् । मैनाली, केसी, रिमाल र पोखरेल दोलखाबासी हुन् । रामहरि शर्मा नेपाल सरकारका उपसचिव हुन् भने विश्वनाथ शर्मा र साउद नेपाल विद्युत प्राधिकरणका बहालवाला कर्मचारी हुन् ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावित क्षेत्र दोलखाबाट संकलन गरेको अधिकाँश प्राक्सि बदर भएको छ । आयोजनाको प्रवर्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीको निर्वाचनका लागि स्थानीयको प्राक्सिमा शेयरधनी नं. र दस्तखत नमिलेको भन्दै निर्वाचन अधिकृतले रद्द गराएका हुन् ।

tamakoshi-newskarobar

एक वर्षअघि स्थानीयलाई सेयर वितरण गरे तापनि आयोजना प्रभावित स्थानीयसँग सेयर आवेदन गरेको फारामको अर्धकट्टी बाहेक कुनै पनि प्रमाण पत्र समेत छैन । कम्पनीले स्थानीयलाई न त सेयर धनीप्रमाण पत्र वितरण ग¥यो न त डिम्याट खातामा नै जम्मा गरेको छ । स्थानीयले सेयर आवेदन गर्दा डिम्याट खाता नं. राखे तापनि अहिले प्रोक्सिमा त्यही डिम्याट खाता नं. राख्दा प्रोक्सि रद्द भएको छ ।

यसअघि कम्पनीले स्थानीयका लागि सेयर धनी नं., नागरिकता नं. वा अर्ध कट्टी नं. जुन राखे तापनि सदर हुने आश्वासन दिएर प्रोक्सी संकलन गर्न लगाएको थियो । सहायक निर्वाचन अधिकृत संजिव लामाले शेयरधनी नं. र डिम्याट खाता नं. बाहेक अरु हेर्नै असम्भव रहेको बताए । स्थानीयसँग कुनै पनि प्रमाण नभई गराउने साधारण सभा रोक्न आयोजनास्थलको स्थानीय विगु गाउँपालिकाले साधारण सभा नै रोक्न माग गरेको छ ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु