गृहपृष्ठ जोगबनी भन्सार नाकाबाट आयात ठप्प
जोगबनी भन्सार नाकाबाट आयात ठप्प
विराटनगरको रानी नाकामा विषादी जाँच्ने उपकरण नहुँदा जाँचपासको काम रोकिएको छ । सरकारले भारत तथा तेस्रोे मुलुकबाट आयात गरिने फलफूलमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी जाँचपास नियमलाई अनिवार्य गरे पनि परीक्षण गर्ने निकाय र आवश्यक उपकरण नहुँदा समस्या भएको हो ।
शुक्रबारदेखि क्वारेन्टाइन र जीवनाशक विषादी जाँचपासको काम रोकिएको छ । बिषादी परीक्षणको कार्य रोकिदा पूर्वीनेपालको प्रमुख नाका रानीमा फलफूल र तरकारी बोकेका भारतीय गाडी सीमा क्षेत्रमा नै थन्किएका छन् । रानी भन्सार कार्यालयका अनुसार तरकारी र फलफूल बोकेका सवारीसँग क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण रिपोर्ट नभएकाले पनि जाँचपास रोकेको हो ।
आपूर्ति मन्त्रालयले तरकारी र फलफूल आयातमा असार ३ गतेबाट जीवनाशक विषादी जाँचपास अनिवार्य गरेको थियो । आयात प्रतिस्थापन र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले तरकारी तथा फलफूल आयातमा कडाइ गरेको हो । तर, कडाइ गर्ने परीक्षण गर्ने प्रयोगशाला नबनाउँदा विदेशबाट सामान आयात गर्ने व्यापारी मर्कामा परेका छन् । जसले गर्दा अहिले रानी भन्सार कार्यालयमा सयौँको संख्यामा कन्टेनरहरु थन्किएका छन् ।
विषादी परीक्षण गर्ने प्रयोगशालाको अभाव हुँदा परीक्षण गर्न बिर्तामोड पु–याउनुपर्ने अवस्था छ । बिर्तामोड पु–याएर नमुना परीक्षण गर्न २ देखि ३ दिनसम्म लाग्ने गर्छ । जसले गर्दा भारतबाट आएका कृषिजन्य सामान तरकारी तथा फलफूल कुहेर नष्ट हुने भन्दै व्यापारीले भन्सार नाकाबाटै भारत फर्काउन थालेका छन् । जसले गर्दा अहिले विराटनगरमा तरकारीको भाउ अकासिएको छ । यसअघि, प्लान्ट क्वारेन्टिन कार्यालयले नेपाल भित्रिने तरकारी तथा फलफूलका लागि अनुमतिपत्र जारी गर्दै आएको थियो ।
सरकारले बजेट भाषणमार्फत भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने तरकारी तथा फलफूल अनिवार्य परीक्षण गरी खानयोग्य रहेको ल्याब रिपोर्ट प्राप्त भएपछि मात्र आयात गर्न दिने व्यवस्था गरेको छ । तर, सो व्यवस्था अनुसार भन्सार नाकाहरुमा परीक्षण ल्याबको व्यवस्था भने गरेको छैन । ल्याबको व्यवस्थामा कुनै चासो नदेखाउने सरकारले परीक्षण गर्नेपर्ने नियमलाई भने बाध्यकारी बनाउँदा आमउपभोक्ता तथा व्यवसायी मर्कामा पर्दै आएका छन् ।
भारतीयको हड्ताल
भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा तीन दिनदेखिको हड्तालका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । जोगबनी बजारको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले हड्ताल गरेपछि नेपालतर्फको आयात–निर्यात प्रभावित भएको हो ।
बजार बन्द भएपछि भारतका विभिन्न सहरबाट आएको सयौं मालवाहक ट्रक र कन्टेनर सीमावर्ती बजार जोगबनीमा रोकिएका छन् । जोगबनीमा रानी नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा दैनिक १५ करोड रुपैयाँबराबरको राजस्व संकलन प्रभावित भएको रानी भन्सार कार्यालयले जनाएको छ ।
विराटनगर भन्सार कार्यालयले चालू आवमा ४२ अर्ब ५३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि ११ महिनाको अवधिमा ३२ अर्ब १५ करोड ४८ लाख रुपैयाँमात्र राजस्व संकलन गरेको छ ।
प्रकाशित समय १५:४३ बजे

















