गृहपृष्ठ विद्युत् कम्पनीको लापर्बाहीले खोला पुरियो

विद्युत् कम्पनीको लापर्बाहीले खोला पुरियो

दैलेखको नौमुलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमुलेदेखि भुरुंगेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम सुरु भएको छ ।

सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तो खन्दा अहिले जङ्गलमाथिको सबै भाग पहिरोका रुपमा खसेको छ । पहिरो पन्छाउन नजिकै रहेको खोला प्रयोग गरेर सबै माटो डुंगा खोलामा फालेपछि करिब एक किलोमिटर खोलासमेत पूर्णरुपमा पुरिएको छ । निर्माण कम्पनीले जनतालाई रकमको लोभ देखाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले आरोप लगाएका छन् ।

स्थानीय सरकारसँग समन्वय गरेर आयोजनाले काम अगाडि बढाउनुपर्ने भए पनि आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएको आरोप बुढाको छ । दोल्ती पावर कम्पनीले ७२ करोड रुपैयाँको लागतमा अहिले पदमखोला जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पु-याएको छ । खोला पुरेर बगर बनाएको भन्दै जनताले गुनासो गरेपछि जिल्ला समन्वय समिति, नौमुले गाउँपालिकाको संयुक्त अनुगमनपश्चात तत्काल खोला सफा गर्न निर्देशनपछि अहिले दुईवटा डोजर लगाएर खोला सफा गर्न थालिएको छ । (रासस)

प्रकाशित समय १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु