गृहपृष्ठ नेपाललाई विश्व बैंकको ११ अर्ब सहयोग
नेपाललाई विश्व बैंकको ११ अर्ब सहयोग
विश्व बैंकले वित्तीय संघीयता एवं सार्वजनिक वित्त व्यवस्थापन सुधारका लागि नेपाल सरकारलाई ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र राजस्व सचिव लालशंकर घिमिरेले शुक्रबार हस्ताक्षर गरेका छन् ।
संघीयताको कार्यसूची कार्यान्वयन, नीति नियम र ऐन कानुनका माध्यमबाट वित्तीय संघीयता स्थापना, संघीय कानुन, संघीयस्तरमा समग्र कानुन निर्माण, बजेट तर्जुमा तथा कार्यान्वयन र लेखा प्रणाली सुधारका साथै स्थानीय सरकारका बजेट प्रक्रियामा सघाउन सहायता उपयोग हुनेछ । त्यस्तै, पारदर्शिताको सुनिश्चितता, नागरिकप्रति जवाफदेहिता, अनावश्यक खर्च नियन्त्रण, कर संकलन प्रणालीमा सुधार, मध्यकालीन खर्च ढाँचा तयारी र सुधारका कार्यक्रममा दिगोपन सुनिश्चिततामा पनि सहयोग रकम खर्च हुनेछ ।
राजस्व सचिव घिमिरेले सुशासन प्रवर्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारलाई विकासका साझेदारबाट प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् । नेपालको संघीयताको अभ्यासमा सघाउन बैंकले सहुलियत ऋण उपलब्ध गराएको देशीय प्रबन्धक हादादजार्भोसले बताए । उनले विभिन्न चुनौतीलाई चिर्दै सफलतातर्फ उन्मुख यो संघीय संरचनालाई सुदृढ तुल्याउन बैंक प्रतिबद्ध रहेको बताए ।
प्रकाशित समय १७:२२ बजे

















