गृहपृष्ठ कृषि मन्त्रालयले भन्यो– कृषि उपज ढुवानी नरोक
कृषि मन्त्रालयले भन्यो– कृषि उपज ढुवानी नरोक
सीडीओ भन्छन्– जिल्लाका हितका लागि फ्याँकेको
अर्घाखाँचीमा प्रहरीकै सक्रियतामा कपिलवस्तुको बुद्धभूमिबाट लगिएको तरकारी नष्ट गरिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसरी कृषिजन्य उपजको ढुवानी नरोक्न आग्रह गरेको छ ।
कपिलवस्तुबाट अर्घाखाँचीमा बिक्रीवितरणका लागि लगिएको तरकारी शनिबार स्थानीय प्रशासनको आदेशमा फोहर फाल्ने डम्पिङ साइटमा फ्याँकिएको थियो ।
‘हो, जिल्लामा भएको सर्वदलीय निर्णयअनुसार मैले कपिलवस्तुबाट ल्याइएको तरकारी रोक्न लगाएको हुँ,’ अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज पौडलले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘जिल्लाका हितका लागि जिल्लाले गरेको नीति निर्णय अनुसार मैले तरकारी फिर्ता गराउने आदेश दिएको हुँ ।’
अब मलाई एकरत्ति विश्वास छैन यो देश बन्छ भन्ने कुरामा। किसानको पसिनाले सराप्छ। भारतबाट आउने तरकारीमा कोरोना छैन। नेपाली किसानको पसिनामा कोरोना छ। यो देख्दा कसको मन नरोला? 💔 pic.twitter.com/5Dpv1XmGT9
— नमस्ते नेपाल 195K(Namaste nepal)🇳🇵 (@namastenepal_) June 1, 2020
कृषि मन्त्रालयको विज्ञप्तिमा भने ‘स्वास्थ्यका मापदण्डहरू पालना गरी कृषि तथा पशुपन्छीहरूको उपजको ढुवानी तथा बिक्रीवितरणका कामहरू सुचारु गर्न नेपाल सरकारबाट पटक–पटक निर्णयहरू भएको र सोहीअनुसार यस (कृषि)मन्त्रालयबाट पटक–पटक सूचना प्रकासित गरी सम्बद्ध निकायहरूलाई पत्राचार गरेर अनुरोध पनि गरिएको’ उल्लेख छ ।
यो विज्ञप्तिले संघ सरकारले मन्त्रिपरिषदबाटै गरेको निर्णयलाई स्थानीय स्तरमा सीडीओ आफैले उल्लंघन गरी आफैले नीतिनियम बनाइ मनपरी ढंगबाट लागू गरेको प्रष्ट देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलको आदेशमा कपिलवस्तुबाट तरकारी आयात गर्ने अर्घाखाँचीका तरकारी व्यापारी रामकिशोर बानियाँलाई समेत प्रहरीले शनिबार दिनभरि नियन्त्रणमा लिएर साँझमात्रै छाडेको थियो ।
कृषि मन्त्रालयले यसरी अन्यत्र जिल्लामा उत्पादित वस्तुहरूको ढुवानी र बिक्रीवितरण गर्न नदिई जफत गरी नष्ट गरिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कृषिमन्त्रालयले यस्ता कार्यले कृषकहरूको उपज खेर जाने मात्र नभइ कृषकहरूको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै सचेत गराएको छ ।
‘यस्ता कार्यहरू कहीँकतैबाट हुन नदिन र कृषकका उत्पादन सहज रुपमा ढुवानी र बिक्रीवितरण हुने व्यवस्था मिलाउन’ भन्दै कृषिमन्त्रालयले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
प्रकाशित समय १५:०१ बजे

















