गृहपृष्ठ प्राधिकरणले तोक्यो नयाँ महसुल दर, डेडिकेटेड र ट्रंकलाइन हटेपछि व्यवसायीलाई राहत

प्राधिकरणले तोक्यो नयाँ महसुल दर, डेडिकेटेड र ट्रंकलाइन हटेपछि व्यवसायीलाई राहत

नेपाल विद्युत प्राधिकरणले विद्युतमा नयाँ महसुल दर तोकेको छ । नेपाल विद्युत प्राधिकरण मंसिरमा नयाँ विद्युत महसुल दर तोक्न विद्युत नियमन आयोगमा पठाएको सोमबार बसेको सञ्चालक समितिको ५७औं बैठकले असारदेखि लागू हुने गरी नयाँ महसुल तोकेको हो । प्राधिकरणले व्यावसायिक क्षेत्रका लागि प्रयोगमा रहेको डेडिकेटेड र ट्रंकलाइनको प्रावधान पनि हटाएको छ।

जेठसम्म विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन माध्यमबाट जडान गरिएका औद्योगिक, व्यापारिक र गैरव्यापारिक उपभोक्तालाई ६५ प्रतिशतसम्म अतिरिक्त शुल्क लिइरहेको थियो । डेडिकेटेड र ट्रंकलाइन जडानको व्यवस्था प्राधिकरणले २०६९ साल असार ९ गतेदेखि गरेको  थियो ।

नयाँ महसुल

० गार्हस्थ वर्गको सिङ्गल फेज तल्लो भोल्टेज अर्थात् २३० भोल्टको लाइनबाट विद्युत खपत गर्ने उपभोक्ताअन्तर्गतका उपसमूहको न्यूनतम (डिमाण्ड) शुल्कमा ११.११ प्रतिशतदेखि ३३.३३ प्रतिशतसम्मको कटौती ।

० इनर्जी शुल्कको हकमा ५ एम्पियरको लाइनबाट मासिक १० किलोवाट घण्टासम्म विद्युत खपत गर्ने गरिब तथा न्यून आय भएका उपभोक्ताका लागि इनर्जी शुल्क नलाग्ने । सबै एम्पियरको लाइनमार्फत मासिक २१ भन्दा बढी किलोवाट घण्टासम्म खपत गर्ने बाँकी उपसमूहको इनर्जी शुल्कमा ५ प्रतिशतदेखि ९.९ प्रतिशतसम्मको कटौती ।

० गार्हस्थ वर्गको थ्री फेज तल्लो भोल्टेज (४०० भोल्ट) को लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता समूहको न्यूनतम शुल्कमा कुनै परिवर्तन गरिएको छैन भने मासिक ४०० किलोवाट घण्टासम्म विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ८ प्रतिशत र ४०० किलोवाट घण्टाभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ११.११ प्रतिशत कटौती ।

० गार्हस्थ वर्गको थ्री फेज मझौला भोल्टेज (३३ र ११ केभी) को लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता समूहअन्तर्गत मासिक २००१ किलोवाट घण्टाभन्दा धेरै विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्क ७.६९ प्रतिशतले कटौती । बाँकी यथावत् ।

० अन्य उपभोक्ताअन्तर्गतका सामुदायिक खानेपानी वर्गको डिमान्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २३.३३ प्रतिशतसम्म कटौती ।

० अन्य खानेपानी वर्गको डिमान्ड शुल्कमा ३१.८२ प्रतिशतसम्म कटौती ।

० सिँचाइ वर्गका लागि आवश्यक कृषि मिटरको प्रयोगमा डिमान्ड शुल्क हटाइएको छ भने यातायात तथा १३२ केभी लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताका लागि नयाँ महसुल दर कायम । बाँकी उपभोक्ताको महसुल भने यथावत् ।

० टाइम अफ डे (टिओडी) मिटर जडान गरेका उपभोक्ताको हकमा यातायात तथा १३२ केभी लाइन प्रयोग गर्ने औद्योगिक उपभोक्ताका लागि नयाँ महसुल कायम ।

० सामुदायिक खानेपानी वर्गको डिमान्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २२.९५ प्रतिशतसम्म र अन्य खानेपानी वर्गको डिमान्ड शुल्क ३१.८२ प्रतिशतले कटौती । त्यसैगरी सिँचाइ वर्गको डिमान्ड शुल्क हटाइएयो । बाँकी महसुल दर यथावत् ।

० हालसम्म विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको माध्यमबाट जडान गरिएका औद्योगिक, व्यापारिक र गैरव्यापारिक उपभोक्तालाई ६५ प्रतिशतसम्म अतिरिक्त शुल्क लिइरहेकोमा पूर्णरुपले हटाइयो ।

० ६६ केभी लाइनमार्फत विद्युत खपत गर्ने औद्योगिक उपभोक्ताको इनर्जी शुल्कमा पिक, अफ पिक तथा अन्य समयमा क्रमशः ८.६० प्रतिशत, १४.४६ प्रतिशत तथा १०.६७ प्रतिशतले वृद्धि । यस वर्गका उपभोक्ताले प्राधिकरणलाई तिर्नुपर्ने अतिरिक्त शुल्कमा क्रमशः ५६.४ प्रतिशत, ५०.४ प्रतिशत र ५४.३३ प्रतिशतले कमी हुने ।

० देशमा उत्पादित विद्युतको बहुआयामिक उपयोग गर्न तथा आयातित पेट्रोलियम पदार्थउपरको परनिर्भरता कम गर्न यातायातका लागि डिमान्ड शुल्क नलाग्ने गरी नयाँ टाइम अफ डे (टिओडी) विद्युत महसुल दर कायम । यसमा वर्षातको मौसममा अफ पिक समयमा पिक समयभन्दा करिब ४७ प्रतिशतसम्म कम दर कायम । अन्य यातायातको हकमा वर्षातको मौसममा अफ पिक समयमा पिक समयको भन्दा करिब ६० प्रतिशतसम्मले कम दर कायम ।

० ग्राहस्थ्य वर्गको सिंगल फेज तल्लो भोल्टेज (२३० भोल्ट) को इनर्जी शुल्कको हकमा गरेको ५ एम्पियरको लाइनबाट ० देखि १० किलोबाट घण्टासम्म विद्युत खपत गर्ने उपसमूहको इनर्जी शुल्क नलाग्ने निर्णय सामुदायिक थोक उपभोक्ताको हकमा पनि लागू ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु