गृहपृष्ठ नौ किलोमिटर सडकमा तीन निकायको ठेक्का
नौ किलोमिटर सडकमा तीन निकायको ठेक्का
जिरीदेखि खिम्ती खोला रामेछापको सिमानासम्मको सडकको लम्बाइ जम्मा नौ किलोमिटर छ । त्यो सडक कतै हिलाम्मे छ, कतै ढलान त कतै कालोपत्रे पनि भएको छ । क्रमशः सडकको काम किन नभएको होला भन्ने जिज्ञासा हरेक यात्रु र गाडी चालकले गर्ने गर्छन् ।
एउटै सडकमा ठाउँ–ठाउँमा काम पनि भएको छ त कतै अलपत्र छ । सडकको कामका लागि भनेर थरीथरी मान्छे आउँदा स्थानीय जनप्रतिनिधिलाई पनि अचम्मै लागको छ । कारण, एउटै सानो नौ किलोमिटरको सडक भए पनि त्यसमा तीनवटा निकायले ठेक्का लगाएका छन् ।
एउटै सडकमा तीनवटा निकायको ठेक्काका कारण कुन खण्ड कसको भन्नेबारे सम्बन्धित निकाय र तिनका ठेकेदारबाहेक अरुलाई पत्तो पनि छैन । गाउँपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष ईश्वरचन्द्र पोखरेल तीन तहका सरकार बने पनि आपसी तालमेल र संक्रमणकालीन अवस्था भएकाले समन्वय हुन नसकेको बताउँछन् ।
उक्त सडकमा डिभिजन सडक कार्यालय चरिकोट, प्रादेशिक सडक डिभिजन खुर्कोट र पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले काम गर्छन् । वर्षात् र आपतकालीन अवस्थामा कुनै बेला जिरी नगरपालिकाले समेत सडक सफा गर्ने काम गर्छ । तर, काम गरेको खण्ड कसको र नगरेको खण्ड कसको भन्ने सम्बन्धित नगरपालिकाका जनप्रतिनिधिलाई समेत जानकारी छैन । जिरी नगरपालिकाका प्रमुख टंक जिरेल यो सडकको काम विचित्र ढंगले भइरहेको बताउँछन् ।
जिरी–खिम्ती–शिवालय सडक निर्माण तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिले ट्रयाक खोलेर १५ २० वर्षअघि नै सुरु भएको सडक हो । यसलाई पछि डिभिजन सडकले स्वामित्वमा लिएर विभिन्न खण्डमा ठेक्का लगाएर काम गरेको हो । राज्य पुनःसंरचनापछि संघीय सरकारबाट सडक विभागलाई उक्त सडकको शीर्षकमा बजेट विनियोजन नभएपछि दुई वर्षअघि डिभिजन सडक चरिकोटले त्यसको जिम्मेवारी पूर्वाधार कार्यालय सिन्धुपाल्चोक र प्रादेशिक सडक डिभिजन खुर्कोटलाई हस्तान्तरण गरेको हो ।
पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर रविन खातीका अनुसार चार किमीदेखि नौ किमीसम्म पूर्वाधार कार्यालय सिन्धुपाल्चोकको छ । त्यसमा कालोपत्रे र ढलानको काम भइरहेको छ । त्यो बीचमा अर्को काम पनि पर्छ । ‘तर त्यो ठेक्का कसको हो भन्ने हामीलाई पनि जानकारी छैन,’ उनले भने ।
जिरी बसपार्कको जिरो किलोदेखि चार किमीसम्म प्रादेशिक सडक डिभिजन खुर्कोटको जिम्मेवारीमा छ । त्यहाँ कालोपत्रे गराउने जिम्मेवारी छ । खुर्कोट डिभिजनका प्रमुख देव यादवले दोलखामा सडक डिभिजन चरिकोटबाट हस्तान्तरण भएका तीनवटा सडकका विभिन्न ठेक्का आफूले हेरेको बताए । गत आर्थिक वर्षभित्र पूरा हुने योजना लकडाउनका कारण पूरा गर्न नसकेको उनको तर्क छ । एउटै सडकमा विभिन्न निकायको काम भए पनि समन्वयमा दोहोरोपना नहुने गरी काम गरेको उनले बताए । अहिले रनिङमा रहेका काम पूरा भएपछि दोलखामा अब खुर्कोट डिभिजनको नयाँ काम नहुने उनले जानकारी दिए ।
सडक डिभिजन चरिकोटले पनि जिरी–सल्लेरी–ढिग्री सडकअन्र्तगत यही ठाउँमा केही काम गराइरहेको छ । तर, कुनै निकायले पनि काम भने पूरा गर्न सकेका छैनन् । यसमा मात्र होइन, डिभिजन सडक चरिकोटमा हस्तान्तरण भएको चरिकोट–कालिञ्चोक सडकमा पनि चरिकोट डिभिजन र सिन्धुपाल्चोक दुवैको ठेक्का छ । खावादेखि सहरे जाने सडकमा पनि नियती उस्तै छ ।
प्रकाशित समय १६:५५ बजे



















