गृहपृष्ठ पाँच महिनामा १ हजार ५० किलो सुन आयात, चाँदी आयात पाँच गुणा कम

पाँच महिनामा १ हजार ५० किलो सुन आयात, चाँदी आयात पाँच गुणा कम

gold_sun

चालू आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा नेपालमा ७ अर्ब ५३ करोडको १ हजार ५० किलो सुन भित्रिएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)बाट ६ अर्ब १२ करोडको ८५० किलो र टर्कीबाट १ अर्ब ४१ करोडको २०० किलो सुन आयात भएको हो ।

सुन आयात परिमाण गत वर्षको सोही अवधिको भन्दा कम हो । तर, मूल्यवृद्धिका कारण कम सुनका लागि पनि बढी रकम बाहिरिएको छ । गत वर्ष पाँच महिनामा १ हजार २५० किलो सनु भित्रिएको थियो, जसका लागि ६ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बाहिरिएको थियो ।

समीक्षा अवधिमा गत वर्ष यूएईबाट ४ अर्ब ६३ करोडको ८५० किलो सुन आयात भएको थियो । त्यस्तै टर्कीबाट १ अर्ब ६१ करोडको ३ सय किलो र स्विट्जरल्यान्डबाट ५४ करोड ७५ लाखको १ सय किलो सुन भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।

चालू आवको साउनदेखि मंसिरसम्ममा चाँदी आयातमा भारी गिरावट आएको छ । गत वर्ष पाँच महिनामा ३ अर्ब ७६ करोडको ५८ हजार किलो चाँदी आयात भएकोमा चालू आवको सोही अवधिमा १ अर्ब ४ करोडको ११ हजार किलोमात्र चाँदी आयात भएको हो ।

पाँच महिनामा भारत, अमेरिका र यूएईबाट गरी १ अर्ब ४ करोड ५७ लाखको चाँदी आयात भएको छ । यूएईबाट सबैभन्दा धेरै १ अर्ब ४ करोड ५५ लाखको ११ हजार किलो चाँदी भित्रिएको छ । अमेरिका र भारतबाट आयात भएको चाँदीको हिस्सा न्यून छ ।

गत वर्ष स्विट्जरल्यान्ड, यूएई, भारत, अमेरिका र चीनबाट चाँदी आयात भएको थियो । स्विट्जरल्यान्डबाट ३ अर्ब ७० करोडको ५७ हजार किलो चाँदी गत वर्षको पाँच महिनामै आयात भएको थियो ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु