गृहपृष्ठ बन्द भइसकेका ११ एयरलाइन्सलाई साढे ९ करोड बक्यौता बुझाउन ३० दिने म्याद

बन्द भइसकेका ११ एयरलाइन्सलाई साढे ९ करोड बक्यौता बुझाउन ३० दिने म्याद

सबैभन्दा बढी नेकोन र कस्मिक एयरको

विभिन्न ११ वटा हवाई सेवा कम्पनीबाट साढे ९ करोड रुपैयाँ बक्यौता उठाउन नेपाल नागरिक उडड्यन प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । ९ करोड ६८ लाख ७४ हजार रुपैयाँ बक्यौता असुल गर्नका लागि प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।

नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयर, एयर काष्ठमण्डप र नेपाल एयरवेजले प्राधिकरणलाई बक्यौता तिर्नु पर्ने भएको हो । यी सबै हवाई कम्पनीहरु हाल सञ्चालनमा छैनन् । प्राधिकरणले ३० दिनभित्र सो बक्यौता रकम विलम्व शुल्कसहित तिर्न भनेको छ । तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने र प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकीसरह असूलउपर गरिने प्राधिकरणले उल्लेख गरेको छ ।

सबैभन्दा बढी बक्याैता रकम नेकोन एयरको छ । नेकोनले ४ करोड ७० लाख ६० हजार रुपैयाँ तिर्नु बाँकी । नेकोन एयरका सञ्चालकहरुमा दिपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्द भक्त श्रेष्ठ, रविन्द्र श्रेष्ठ, नगेन्द्र जोशी, भरतराज उप्रेती, कृष्ण श्रेष्ठ र गोपाल सुन्दर कक्षपती रहेका छन् ।  त्यसपछि दोस्रो बढी रकम कस्मिक एयरको ३ करोड ४७ लाख ५८ हजार रूपैयाँ बक्याैता छ । यसका सञ्चालक रविन्द्र प्रसाद प्रधान हुन् ।

त्यस्तै, शिवानीले ५५ लाख ५१ हजार, अल्पाइनले ७२ हजार, गोरखाले २० लाख ३५ हजार, कर्णालीले १७ लाख ४६ हजार रुपैयाँ बक्यौता तिर्नु पर्ने भएको छ । प्राधिकरणका अनुसार माउण्टेनको १२ लाख ७३ हजार, सांग्रिलाको १५ लाख ३७ हजार, स्काइलाइन एयरवेजको १५ लाख ५० हजार, एयर काष्ठमण्डपको ७ लाख ३८ हजार र नेपाल एयरवेजको ५ लाख ५० हजार रूपैयाँ बक्याैता छ ।

यस्तै प्राधिकरणले हाल सञ्चालनमा रहेका वायुसेवा कम्पनीलाई समेत नियमानुसार बुझाउनुपर्ने रकम सार्वजनिक सूचना जारी गर्नु नपर्ने गरी निर्धारित अवधिभित्र बुझाउन सूचित गरेको छ ।

हेर्नुहोस् सूचना :

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु