गृहपृष्ठ सामुदायिक वन  आयस्रोत र समुदाय परिवर्तनको आधार

सामुदायिक वन  आयस्रोत र समुदाय परिवर्तनको आधार

समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको स–साना वनका रुपमा रहेका सामुदायिक वन नुवाकोटमा अब्बल बन्दै गएका छन् ।

वन विभागले चालू आर्थिक वर्षको ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ मार्फत मुलुकभरका सामुदायिक वनमा नुवाकोटको छापगैरी सामुदायिक वन ककनीलाई प्रदान गरेसँगै समुदायमार्फत सञ्चालनमा रहेका यहाँका सामुदायिक वनको व्यवस्थापन समेत उत्कृष्ट ठहरिएका छन् ।

सामुदायिक वनमार्फत समुदायको आर्थिक रुपान्तरणमा परिवर्तन ल्याउन सफलपछि आगामी दिनमा प्राप्त गरेको सम्मान जोगाउन पनि लगनशील हुन सिकाएको छापगैरी सामुदायिक वनको कोषाध्यक्ष लजिता तामाङले बताइन् ।

विसं २०५३ मा सामुदायिक वनका रुपमा मान्यता पाएको उक्त वनमा विसं २०६६ देखि कार्यसमितिको नेतृत्व महिलाले नै गर्दै आएका छन् । वन सदस्य (उपभोक्ता)को खेत र बारी अन्नबालीले भरिएका छन् । सामुदायिक वनमा भने जडीबुटी र रुखले ढकमक्क छन् ।

परम्परादेखि नै बाली लगाएर दैनिकी गुजार्दै आएका यहाँका उपभोक्ता आफ्नो जग्गामा भन्दा पनि सामुदायिक वनमा धेरै समय बिताउने गरेको समितिका कोषाध्यक्ष तामाङले बताउँछिन् ।

‘वनमा चिराइतो, टिमुर, बोझो कुरिलो, सेतोमुस्लीलगायतका जडीबुटीको नर्सरी र वृक्षारोपण गर्न भ्याइनभ्याइ छ,’ उनले भनिन्, ‘अम्रिसोबाट कुचो बनाउन र जंगलमा फलेका लप्सीबाट अचारको परिकार बनाउन नभ्याएर बिग्रन नै पुग्यो ।’

छापगैरी सामुदायिक वनले आफ्नो जंगल क्षेत्रमा लगाएको जडीबुटीका बिरुवा बिक्री गर्ने, उत्पादन हुन थालेका फल बिक्री गरी आम्दानी मनग्य निकाल्दै सदस्यको जीविकोपार्जनमा सहयोग पुर्याउँदै आएको छ ।

सामुदायिक वनभित्र फुलेका अम्रिसोको कुचो बनाउन, अलैँची केलाउन सदस्यलाई रोजगार दिएको छ । सामुदायिक वनले वन सदस्यको जीविकोपार्जनमा हरियो वन कार्यक्रममार्फत प्राप्त गरेको रु पाँच लाख ७० हजार बिना ब्याज ऋण लगानी गर्दै आएको छ ।

सदस्यको क्षमता अभिवृद्धि, वन क्षेत्रभित्र पर्ने पासाङल्हामु सडकमा पहिरो रोकथाम, बालबालिकालाई विद्यालय पठाउन सचेतना जगाउँदै आएकाले वनलाई एक शक्तिशाली संस्थाका रुपमा उभ्याउन सफल भएको अध्यक्ष ठूलीकान्छी तामाङले बताईन् ।

वन विभागले उत्कृष्ट बनाएको छापगैरीजस्तै यहाँ सामुदायिक वनको संख्या पर्याप्त रहेको जिल्ला वन अधिकृत पदमराज नेपालले बताउँछन् । सामुदायिक वनमार्फत सहुलियत पसल, कुटानीपिसानी मिल, फर्निचन मिल चलाएर समुदायका सदस्यको दैनिक जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्दै आएको माझीगाँउ सामुदायिक वन विदुर नगरपालिका–८ ले पनि महत्वपूर्ण स्थान लिएको छ ।

सामुदायिक वनले सञ्चालन गर्ने गतिविधि समुदायका सबैको हितमा हुने र त्यसलाई प्रतिस्पर्धा गर्ने गरी अन्यले सोही व्यवसाय नगर्ने सहमतिअनुसार समुदायिक वनले चलाएका कार्यक्रम एकद्वार प्रणालीमार्फत सञ्चालित छन् ।

वन सदस्यको आम्दानकिो स्रोत जुटाउन वन समितिले भवन बनाएर भाडामा लगाएको छ भने क्याटरिङका सामग्री उपलब्ध गराएर सेवा र आर्थिक लाभ दुवै पुर्याएको वनका पूर्व अध्यक्ष बाबुकाजी श्रेष्ठ बताउँछन् ।

‘वनलाई जोगाउन वन समितिको क्रियाकलापलाई सदस्य सबैले स्वीकार गरेका छन्,’ समहूका सल्लाहकारसमेत रहेका श्रेष्ठले भने, ‘वनमा हुर्किएका करोडाैं रुपैयाँको काठ वन विनास नहुने गरी प्रयोगमा ल्याएर सदस्यलाई ‘लखपति’ बनाउने योजना छाैँ ।’

वन कार्यालयको तथ्यांकअनुसार सामुदायिक वनको हिस्सा यहाँ बढोत्तरी हुँदै गएको छ भने वन दर्ताको संख्या पनि वृद्धि भइरहेको छ । वन स्रोतमार्फत हरित रोजगारी सिर्जना गरी आयस्तरमा वृद्धि गर्न योगदान पुर्याउनुका साथै जीविकोपार्जनमा सुधार ल्याएर विकास र वातावरणबीच सन्तुलनसमेत कायम राख्न उल्लेख्य योगदान पुर्याएको छ ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु