गृहपृष्ठ समृद्धिको गोरेटो कोर्नुको विकल्प छैन : प्रचण्ड
समृद्धिको गोरेटो कोर्नुको विकल्प छैन : प्रचण्ड
फाइल तस्बिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षभित्र समृद्ध नेपालको गोरेटो कोर्नुको विकल्प नभएको बताएका छन् । नेपाल मण्डल पर्यटन नगरीले शुक्रबार आयोजित पर्यटन महोत्सव तथा ‘टिस्टा, काँगडा नेपाल एकीकरण, वीर योद्धाको सम्मान र सम्झना’मा आयोजित राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै प्रचण्डले सबै राजनीतिक शक्ति, नागरिक समाजको सहयात्रा, सहकार्य र एकताबिना ऐतिहासिक युग निर्माण गर्ने काम सम्भव नभएको बताए ।
प्रचण्डले भने, ‘तराई मधेश, पहाड र हिमाललाई एकापसमा जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ती लामबद्ध गर्न र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।’
जनताकै सरकार र जनताप्रति समर्पित भएको विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा आएको बताउँदै उनले भने, ‘जनताको आकांक्षा सम्बोधन गर्न सरकारका कामकारवाहीबारे सच्याउने आँट गर्नुपर्छ ।’
धेरै अप्ठ्यारा र जटिलताका बीचबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदै जारी भएको संविधानमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरिएको उल्लेख गर्दै उनले ७० वर्षकोे इतिहासमा नेपालमा कुनै पनि सरकार पाँच वर्ष नटिकेको कटु अनुभवलाई चिर्दै स्थिर सरकार गठन गरी आर्थिक विकास र समृद्धितर्फ मुलुकलाई लैजाने उद्देश्यले वर्तमान सरकार गठन गरिएको बताए ।
प्रकाशित समय १९:४३ बजे

















