गृहपृष्ठ भन्सारमा व्यवसायीको दादागिरी, तीन दिनदेखि भद्रपुर भन्सार ठप्प
भन्सारमा व्यवसायीको दादागिरी, तीन दिनदेखि भद्रपुर भन्सार ठप्प
व्यापारीले अनावश्यक विवाद गरेपछि झापाको भद्रपुर भन्सार तीनदिनदेखि ठप्प छ । गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो ।
सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् । भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै राजश्व नतिरी बढी लोड गरिएको कपडा नियन्त्रणमा लिइएको हो ।
भन्सार ठप्प हुँदा ५० लाखको राजश्व गुमिसकेको छ । व्यापारीले भन्सारको गोदाममा रहेको सामान लिनसमेत नआएको शाहीले जानकारी दिए । सूर्य अडर्स एण्ड सप्लायर्सको नाममा १३ पोका कपडा राजश्व तिरेर लैजाने क्रममा पाँच पोका कपडा बढी लगेपछि वडा प्रहरी कार्यालय भद्रपुरले गोदामबाटै सो कपडा नियन्त्रणमा लिएको थियो ।
सप्लायर्सको गोदामबाट वडा प्रहरी कार्यालय भद्रपुरले राजश्व तिरेको स्रोत नखुलेको पाँच पोका कपडा नियन्त्रणमा लिएको जनाएको छ । (रासस)
प्रकाशित समय १०:५५ बजे

















