गृहपृष्ठ भन्सार विभागले भन्यो– विदेशबाट ल्याएका सामान जफतै हुन्छ
भन्सार विभागले भन्यो– विदेशबाट ल्याएका सामान जफतै हुन्छ
विदेशबाट फर्कने यात्रुबाट एक बोतल मदिरा, मोबाइल फोनदेखि क्रिकेट ब्यागसमेत बरामद गर्ने र त्यो लिलाम गर्ने प्रक्रिया सुरु गर्ने अभियान चलेपछि सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध सुरु भएको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता सामान तोकिएको भन्सार तिरेर सम्बन्धित व्यक्तिले ल्याउन पाउनु पर्ने बताए पनि भन्सार विभागले सामाजिक सञ्जालमा जे सुकै भने पनि विभागले जफतै गर्ने बताएको छ ।
“ विदेशबाट हवाईमार्ग भइ नेपाल आउने यात्रुले प्रचलित निजी गुण्टा, झिटी भारीसम्बन्धी सूचनाअनुसार ल्याउन पाउनेभन्दा फरक वा बढी परिणामका मालवस्तु त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कब्जा/जफत गरेको सन्दर्भमा विभिन्न सामाजिक सञ्जालमा प्रकासित प्रतिक्रियाहरूप्रति यस विभागको ध्यानाकर्षण भएको छ,” भन्सार विभागका निर्देशक शिशीर घिमिरेद्वारा जारी सूचनामा भनिएको छ–विदेशबाट हवाईमार्ग भइ नेपाली आउने स्वदेशी तथा विदेशी यात्रुले आफ्ना साथमा के कस्ता मालवस्तु कति परिमाणमा ल्याउने पाउने स्पष्ट प्रावधान निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा रहेको र सो सूचनाको प्रतिकूल हुने कुनै मालवस्तु ल्याएमा त्यस्तो मालवस्तु जफत हुने सोही सूचनाको दफा ७ मा छ ।”
भन्सार विभागका निर्देशक एवं प्रवक्ता घिमिरेले यस्तो सूचना जारी गरे पनि निजी गुण्टा, भारी आदेशको दफा–७ मा भने कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमामात्र त्यस्ता सामान जफत गरिने उल्लेख गरिएको छ । राजपत्रमा प्रकासित सूचना भनेको कानुनसरह मान्य हुन्छ, तर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुले कर तिरेर आफ्नो सामान लैजान खोज्दासमेत जफत गरेर चोरीडकैतीका सामानसरह विदेशबाट फर्कने नेपालीको श्रमको कमाइ खोसेकोमा सामाजिक सञ्जालमा विरोध भएको हो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ३३ किलो सुन छिर्ने विमानस्थल भन्सारबाट १ किलो चक्लेट उपहारमा ल्याउन समेत नदिइएको गुनासो गरेका छन् ।
प्रकाशित समय १७:०३ बजे

















