गृहपृष्ठ सेयर किनबेचमा नयाँ पुँजीगत लाभकर गणना विधि लागू, यसरी हुन्छ गणना
सेयर किनबेचमा नयाँ पुँजीगत लाभकर गणना विधि लागू, यसरी हुन्छ गणना
सेयर किनबेचमा आजदेखि नयाँ पुँजीगत लाभकरको व्यवस्था लागू भएको छ । साउन १ गतेदेखि साढे सात प्रतिशतको सट्टा पाँच प्रतिशत पुँजीगत लाभकर लगाउँदा भारित औसत लागत गणना विधि लागू भएको हो । नयाँ व्यवस्थाअनुसार हकप्रद र बोनस सेयरसमेत भारित औसत विधिबाट गणना भई पुँजीगत लाभकर तय हुने केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले जनाएको छ ।
सिडिएस एण्ड क्लियरिङले सम्पूर्ण सेयर दलाललाई साउन १ गतेदेखि हुने धितोपत्र कारोबारको पूँजीगत लाभकर गणना गर्दा सोही विधिअनुसार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत गरेको नीतिगत व्यवस्था सिडिएससीले कार्यान्वयनमा ल्याएको हो ।
सरकारले चालू आवको बजेटमा यसअघि प्राकृतिक व्यक्तिलाई लाग्दै आएको ७.५ प्रतिशत पुँजीगत लाभकर घटाएर ५ प्रतिशत कायम गरेको छ । संस्थागत लगानीकर्ताको हकमा भने यसअघि कायम १० प्रतिशत नै कायम छ ।
कसरी हुन्छ गणना ?
मानौं प्रतिकित्ता १ सय रुपैयाँका दरले कुनै कम्पनीको सय कित्ता सेयर किनियो भने लागत मूल्य १० हजार रूपैयाँ पर्छ । अब कम्पनीले शतप्रतिशत हकप्रद दियो भने लगानीकर्तासँग २ सय कित्ता सेयर हुन्छ । हकप्रदसहितको जम्मा लागत २० हजार (भारित औसत मूल्य) हुन्छ । नयाँ व्यवस्थाअनुसार कम्पनीले हकप्रदपछि बोनस बाँड्यो भने बोनसको पनि प्रतिकित्ता सय रूपैयाँका दरले भारित औसत मूल्य गणना हुनेछ । लगानीकर्ताले प्रतिकित्ता भारित औसत मूल्यभन्दा बढीमा सेयर बेचेमा पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । लागत मूल्य २० हजार भएकोमा यति २५ हजारमा सेयर बिक्री गरियो भने नाफाबापतको ५ हजारमा ५ प्रतिशतका दरले पुँजीगत लाभकर लाग्नेछ ।
प्रकाशित समय ०९:०६ बजे

















