गृहपृष्ठ साताभर बढ्यो नेप्से, अन्तिम दिन ३२ अंक वृद्धि
साताभर बढ्यो नेप्से, अन्तिम दिन ३२ अंक वृद्धि
साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३२ अंकले उचालिएको छ । अघिल्ला चार दिन सामान्य वृद्धि देखिएको नेप्से बिहीबार एकैपटक ३२.४२ अंकले बढेको हो ।
बिहीबार नेप्सेमा सूचीकृत सबै समूह बढेका छन् । सबैभन्दा धेरै बैंक ३.५६ र विकास बैंक ३.५१ प्रतिशतले उकालो लागेका छन् । १८० कम्पनीको २९ लाख १४ हजार ५१८ कित्ता सेयर १ अर्ब ४ करोड १७ लाख रूपैयाँबराबरमा किनबेच भएको छ ।
सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको ९ करोड ४१ लाख रूपैयाँ र एनएमबी बैंकको ८ करोड २७ लाख रूपैयाँबराबरको सेयर कारोबार भयो । बिहीबार सर्वाधिक कमाउनेमा एनआइसी एसिया लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक र लक्ष्मी बैंक रहेका छन् । त्यस्तै पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, गुराँस लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रो, नेपाल सेवा लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंक सर्वाधिक कमाउने १० कम्पनीभित्र परेका छन् ।
साताभर बढ्यो नेप्से
यससँगै साताभर नेप्से बढेको छ । नेप्से परिसूचक आइतबार ९, सोमबार २, मंगलबार ५ र बुधबार १४ अंकले बढेको थियो । हरेक दिन १ अर्बमाथिको सेयर कारोबार भएको छ । आइतबार १३३१.२७ अंकबाट कारोबार सुरु भएको बजार बिहीबार बन्द हुँदा ६३.५ अंकले बढेर १३९४.७७ अंकमा आइपुगेको छ ।
प्रकाशित समय १६:३१ बजे

















