गृहपृष्ठ निषेधाज्ञाका बाबजुद १२ अंकले बढ्यो नेप्से, १ अर्ब १० करोडको कारोबार
निषेधाज्ञाका बाबजुद १२ अंकले बढ्यो नेप्से, १ अर्ब १० करोडको कारोबार

निषेधाज्ञाका बाबजुद सेयर बजार परिसूचक नेप्से १२.७७ अंकले उकालो लागेको छ । निशेषाज्ञाका सुरुवाती दिनहरू बुधबार र बिहीबार नेप्से परिसूचक र कारोबार रकम निकै प्रभावित भए पनि आजदेखि बजार लयमा फर्किएको हो ।
अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै सेयर कारोबार गरेकाले नेप्से १२.७७ अंकले बढेर १४१०.३४ मा पुगेको छ । आइतबार १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता सेयर एक अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ मूल्यमा खरिद‑बिक्री भएको छ ।
नेप्सेमा सूचीकृत १२ समूहमध्ये आज तीन उपसमूहको सेयर घट्यो भने आठ समूहको बढ्यो । व्यापार २.५६, जलविद्युत् १.३८ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ । यस्तै बैंकिङ ४.८, होटल २३.९४, विकास बैंक ७.९३, वित्त ६.०३, निर्जीवन बिमा २३३.२२, उत्पादनमूलक ८८.२३, अन्य ४.१४, लघुवित्त २३.६१ र जीवन बीमा १७३.८४ अंकले वृद्धि भएको छ ।
कारोबारका आधारमा नेको इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । नेको इन्स्योरेन्सको सर्वाधिक १४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट सात करोड १९ लाख, नेपाल पुनर्बिमा कम्पनी ६ करोड ६८ लाख, नेपाल लाइफ इन्स्योरेन्स ५ करोड ७४ लाख, प्रभु इन्स्योरेन्स चार करोड २४ लाख र नेपाल इन्स्योरेन्सको तीन करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
आइतबार समृद्धि फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.७७ प्रतिशतले बढेको छ । त्यस्तै नेको इन्स्योरेन्स ७.२४, तारागाउँ रिजेन्सी होटल ६.५० र राष्ट्रिय बिमा कम्पनीका संस्थापक सेयरधनीनी ६.३७ प्रतिशतले कमाएका छन् ।
निषेधाज्ञाको असर साताको अन्तिम कारोबार हुने दिन बिहीबार परेको थियो । बिहीबार नेप्से परिसूचक ६ अंकले बढे पनि कारोबार रकम भने ३९ करोडमा सीमित भएको थियो ।
प्रकाशित समय १७:२७ बजे