गृहपृष्ठ सेयर बजारमा उछाल, ऐतिहासिक उचाइनजिक नेप्से
सेयर बजारमा उछाल, ऐतिहासिक उचाइनजिक नेप्से
नेपालको सेयर बजारमा बुधबार उछाल आएसँगै नेप्से परिसूचक ऐतिहासिक उचाइनजिक पुगेको छ । बुधबार एकैपटक ६४ अंकले बढेपछि नेप्से २०७२ साउन १२ को ऐतिहासिक उचाइ १८८१ नजिक पुगेको हो ।
होटलबाहेकका सबै समूहमा हरियाली छाएपछि नेप्से परिसूचक ६४.७ अंकले बढेर १८७४.८१ अंकमा उक्लिएको छ । केही दिनदेखि लगातार बजार लिडिङ गरिरहेको व्यापार समूह आज पनि सबैभन्दा धेरै बढेको छ । व्यापार समूह ७.९३ प्रतिशतले बढेको हो । त्यस्तै उत्पादनमूलक ७.३२, अन्य ६.७२, लघुवित्त ३.८६, निर्जीवन बिमा ३.३१ र बैंक समूह २.९७ प्रतिशतले बढेका छन् । बाँकी समूहको वृद्धि सामान्य छ भने होटल समूह ०.०५ प्रतिशतले घटेको छ ।
कुल १९८ कम्पनीको १ करोड ८८ लाख ४६ हजार १८१ कित्ता सेयर ६ अर्ब ८१ करोड ७७ लाख रूपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा करिब डेढ अर्ब बढी हो । मंगलबार ५ अर्ब ४४ करोडको सेयर कारोबार भएको थियो ।
बुधबार एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता बढी आकर्षित भएका हुन् । विशाल बजार कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको मूल्य एक महिनामै दोब्बरभन्दा धेरैले बढेको छ । एक महिनाअघि साढे १६ सय हाराहारी रहेको विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य बुधबार ३ हजार ९५० रुपैयाँ पुगेको छ ।
त्यस्तै नेपाल टेलिकम, नेपाल रिइन्स्योरेन्स कम्पनी, अजोड इन्स्योरेन्स, शिवम् सिमेन्ट, आँखुखोला जलविद्युत कम्पनी, ङादी ग्रुप पावर, शिवश्री हाइड्रोपावर र मल्टीपर्पोज फाइनान्स कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज ४२ करोड २९ लाख रूपैयाँबराबरको नेको इन्स्योरेन्सको संस्थापक सेयर खरिद–बिक्री भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनीको २९ करोड ४४ लाख, नविल बैंकको २३ करोड १९ लाख र नेपाल टेलिकमको १९ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । प्राविधिक परिवर्तनका साथै न्यून ब्याजदर र कोरोनाभाइरस प्रभावका कारण लगानीका अन्य क्षेत्र खुम्चिएपछि सेयर बजारमा पैसा आएको सेयर बजार विश्लेषक बताउँछन् ।
प्रकाशित समय १५:३० बजे

















