गृहपृष्ठ प्रभु लाइफको आईपीओमा हालसम्मकै सर्वाधिक १० लाख ८२ हजारले दिए आवेदन
प्रभु लाइफको आईपीओमा हालसम्मकै सर्वाधिक १० लाख ८२ हजारले दिए आवेदन
प्रभु लाइफ इन्स्योरेन्सको सर्वसाधारण सेयर (आईपीओ)मा हालसम्मकै सर्वाधिक आवेदन परेको छ । कम्पनीको साधारण सेयरमा १० लाख ८२ हजार २२९ जनाले आवेदन दिएका हुन् ।
त्यसमध्ये ९ लाख ५ हजार १७२ जनाले मेरो सेयरबाट र १ लाख ७६ हजार ९०३ जनाले बैँकबाट आवेदन दिएको सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सीडीएसका अनुसार पहिलो दिन नै ५ लाखभन्दा धेरैले आवेदन दिएका थिए ।
एकैपटक ३० हजार जनाले आवेदन दिनसक्ने गरी क्षमता विस्तार गरिएकाले यसपटक कुनै प्रविधिगत समस्या भोग्नु नपरेको सीडीएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्ण आचार्यले जानकारी दिए । ‘विगतमा पटक-पटक समस्या आएपछि क्षमता विस्तार गरेका छौँ,’ उनले भने, ‘यसपटक बिनासमस्या लगानीकर्ताले आवेदन दिन पाएका छन् ।’
प्राथमिक सेयरमा आवेदन दिन आस्वा प्रणालीको विकास गरिएसँगै प्राथमिक बजारमा लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । अनलाइन प्रणालीबाट आवेदन दिन मिल्ने भएकाले यति धेरैको आवेदन परेको उनले जनाए । ‘विगतमा लाइन लागेर आवेदन दिनुपर्दा लगानीकर्ताले निकै ठूलो झन्झट व्यहोर्नुपरिरहेको थियो,’ सीईओ आचार्यले भने, ‘अहिले अनलाइन प्रणालीमा भएको सुधारसँगै लगानीकर्तालाई आवेदन दिन सहज भएको छ, यसको पछिल्लो उदाहरण आईपीओमा परेको आवेदन भोल्युम नै हो ।’ यसअघि सानिमा जनरल इन्स्योरेन्समा पनि ९ लाख ३० हजारले आवेदन दिएका थिए ।
प्रभु लाइफले सोमबारदेखि बिहीबारसम्म आवेदन दिन मिल्ने गरी प्राथमिक सेयरमा खुला गरेको थियो । सर्वसाधारण समूहको ६० करोड रुपैयाँमध्ये ७ करोड रुपैयाँ कर्मचारी र सामूहिक लगानीकोषका लागि छुट्टाइएको छ । । बाँकी ५४ करोड रुपैयाँको ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आवेदन संख्याको अनुपातमा करिब आधा आवेदकले मात्र सेयर पाउनेछन् ।
प्रकाशित समय १०:५२ बजे

















