गृहपृष्ठ दुई दिनमै १०३ अंकले बढ्यो सेयर बजार

दुई दिनमै १०३ अंकले बढ्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्से दुई दिनमै १०३ अंकले बढेको छ । नेप्से परिसूचक सोमबार ३७.७ र मंगलबार ६५.४९ अंकले उकालो लागेको हो । आइतबार बजार ५४ अंकले घटेको थियो । मंगलबारको २.७२ प्रतिशतको वृद्धिसँगै नेप्से २४७३.७३ अंकमा उक्लिएको छ ।

आज होटलबाहेकका सबै समूह उकालो लागेका छन् । हिजो होटल समूह सर्वाधिक ८.७६ प्रतिशतले बढेको थियो । अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेपछि होटल समूह आज घटेको हो ।

मंगलबार निर्जीवन बिमा ५.०४ प्रतिशतले बढेको छ । त्यस्तै अन्य ४.०७, लघुवित्त ३.८ र जीवन बिमा ३.३५ प्रतिशतले उकालो लागेको छ । बैँक समूह १.९९ प्रतिशतले बढ्यो । नेप्सेमा सबैभन्दा बढी र बलिया कम्पनी रहेको बैँक समूहको वृद्धिले मात्र सेयर बजारको दिगो वृद्धि सुनिश्चित गर्ने सेयर बजार विश्लेषकहरू बताउँछन् ।

आज २ सय कम्पनीको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता सेयर ८ अर्ब ५९ करोड ३४ लाख रूपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा १ अर्ब ६२ करोड धेरै हो । सोमबार ६ अर्ब ९७ करोड र आइतबार ८ अर्ब ९७ करोडको सेयर कारोबार भएको थियो । साताका तीन दिनमै २४ अर्ब ५३ करोडको सेयर खरिद‑बिक्री भइसकेको छ ।

मंगलबार युनाइटेड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अरु १५ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स (प्रोमोटर), माउन्टेन इनर्जी, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, मल्टीपर्पोज फाइनान्स, ग्लोबल आईएमई बैँक, एभरेस्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

मंगलबार नेपाल रिइन्स्योरेन्स कम्पनीको ५८ करोड ५६ लाख र ग्लोबल आईएमई बैँकको ५३ करोड ६३ लाखको सेयर किनबेच भयो । नेपालकै ठूलो बैँक ग्लोबल आईएमईले दोस्रो त्रैमाससम्ममा २ अर्ब ३१ करोड खुद नाफा गरेको छ भने प्रतिसेयर आम्दानी १७ रुपैयाँबाट बढाएर २१ रुपैयाँ पुर्‍याएको छ ।

प्रकाशित समय १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु